Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रेकाे यसवर्षकाे आम्दानी २० लाख बढी 
डिग्रे मन्दिर ।

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक स्थल डिग्रेले याे वर्ष २० लाख बढी आम्दानी गरेकाे छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिरबाट यस वर्ष विभिन्न शीर्षकबाट २० लाख ८ हजार ९ सय ५० रुपैयाँ आम्दानी भएको हो । मन्दिरमा चढाएको भेटीबाट ७ लाख ६९ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले दिनुभयो । 

उहाँका अनुसार मन्दिरमा चढाएका झन्डै एक हजार बोकाको टाउका बिक्रीबाट ५ लाख ३२ हजार ३ सय ४५, स्टल शुल्क एक लाख ११ हजार, पिङबाट ४५ हजार, चामल विक्रीबाट ३७ हजार ७ सय ५०, जग्गे (व्रतबन्ध) बाट एक हजार पाँच सय र अन्य विविध शुल्कबाट दश हजार रुपैयाँ आम्दानी भएको हो । त्यस्तै ४ लाख ७१ हजार वर्षभरिको पूजापाठबाट आम्दानी भएको हो । अन्य  आम्दानी यसअघिका वर्षहरू जस्तै भएको भए पनि मन्दिरमा चढाएको भेटिबाट याे वर्ष राम्रो आम्दानी भएको मेला व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । 

मन्दिरमा वर्ष भरी पूजापाठ तथा बोका बलि दिने काम चलिरहने भएकाले बोकाको टाउका विक्री तथा भेटी सङ्कलन गर्न ठेक्का दिइने गरिएकाे छ । मन्दिरमा विशेष पूजापाठ हुने हरिबोधिनी एकादशी देखी कार्तिक शुक्ल पूर्णिमासम्म ५ दिनको आम्दानी तथा खर्च मेला व्यवस्थापन समितिले उठाउने गरेको छ । बाँकी वर्षभरिको रकम जति सङ्कलन भए पनि वर्षमा चार लाख ७१ हजार रकम मन्दिर व्यवस्थापन कोषमा जम्मा गर्ने गरी ठेक्का दिइएको छ । सोही रकम हरेक चार चार महिनामा एक लाख १८ हजारका दरले मन्दिरको कोषमा जम्मा हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

मेलाबाट उठेको रकम मन्दिर व्यवस्थापन तथा वरपरको संरचना निर्माणको लागि खर्च हुँदै आएको छ । ‘विगत २/३ वर्ष देखि मेलामा उठेको रकम मन्दिर आसपासको जग्गा खरिद तथा व्यवस्थापनमा लगानी गरेका छौँ, यस वर्ष उठेको रकमबाट डेढ लाख रकम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने सोचेका छौँ’ अध्यक्ष केसीले भन्नुभयो-आम्दानीको मात्रै हिसाब भएको छ समितिको बैठक बसेर खर्च कति भयो हिसाब गर्छौँ, खर्च बाहेक बचेको रकम समितिको निर्णय अनुसार भूकम्प प्रभावित क्षेत्रका लागि र मन्दिरको विकासकै लागि खर्च गर्ने हो, मन्दिर परिसरमा शौचालय छैन, शौचालय निर्माण गर्नु छ, मन्दिर आसपासको क्षेत्र थप व्यवस्थित गर्ने योजनामा छौँ ।’ 

कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित डिग्रे मेला हरेक वर्ष कार्तिक हरिबोधिनी एकादशी देखी पूर्णिमासम्म पाँच दिन मेला लाग्ने गरेको छ । यो वर्ष मङ्सिर ७ गते देखि ११ गतेसम्म मेला लागेको थियो । मेला अवधिमा एकादशी र पूर्णिमाको दिन बाहेक मन्दिरमा पूजापाठ, दर्शन तथा बोकाको बली दिने गरिन्छ । मेलामा रुकुम पश्चिम सहित रुकुम पूर्व, सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान दाङ, बर्दिया लगायतका ठाउँबाट दर्शनार्थी डिग्रे पुग्ने गरेका छन् । 

यस वर्ष एक लाख भक्तजनहरू मेला भर्न आएको व्यवस्थापन समितिले अनुमान गरेको छ । डिग्रे साइकुमारीको मन्दिरमा पूजापाठ गर्नाले मनले चिताएको मनोकामना पुरा हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update