रुकुमेली नापी समाजले आज छैटौँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा विभिन्न खेलकुद तथा अन्य कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । ती मध्ये ब्याडमिन्टन र फुटसल प्रतियोगिता सम्पन्न भइसकेका छन् । आज हाजिर जवाफ लगायतका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
दिवसको अवसरमा आयोजित ब्याडमिन्टन तर्फ आयोजकका हरि केसी र हिरालाल केसीको जोडी प्रथम भएको छ । सुदूरपश्चिम नापी समाजका प्रकाश कँवर र सिद्ध ओझाको जोडीलाई पराजित गर्दै हरि र हिरालालको जोडी प्रथम भएको हो । प्रतियोगितामा गण्डकी नापी समाजका दीपेन्द्र खड्का र रमेश उपरकोटी तृतीय भएको रुकुमेली नापी समाजका अध्यक्ष प्रकाश ओलीले जानकारी दिनुभयो । प्रथमले २० हजार, द्वितीयले १५ हजार र तेस्रो हुने जोडीलाई १० हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार फुटसल प्रतियोगिता पनि आयोजक रुकुमेली नापी समाजले नै जितेको छ ।
यसैबिच समाजको छैटौँ अधिवेशन पनि आज हुँदै छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ । समाजले बर्सेनि खेलकुद प्रतियोगिता सहित अन्य कार्यक्रम सञ्चालनका साथै दुःखमा रहेकाहरूलाई सहयोग समेत गर्दै आएको छ । रुकुमेली नापी समाजले केही दिन अघि मात्र भूकम्प प्रभावितलाई आर्थिक सहयोग गरेको थियो ।