रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । आठबिसकोट नगरपालिका १४ की १८ बर्सिया कल्पना बिक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ कि २६ बर्सिया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराइएको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपैयाँ सहयोग गरेको हो ।
इनासका युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले नेपाल आएका बखत पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई काठमाडौँमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । इनास फ्रान्सले दसैँ तिहारको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको दसैँ तिहार धमाका नामक कार्यक्रम स्थगित गरेर कार्यक्रम गर्न लाग्ने खर्च भूकम्प प्रभावित सुत्केरीलाई पठाएको तिवारीले बताउनुभयो ।
इनास फ्रान्सका अध्यक्ष आभास आचार्यले विपतको बेला जोखिममा रहेका सुत्केरीहरूलाई आवश्यक राहत तथा स्वास्थ्य सामग्री खरिदमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । चिसो मौसममा सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको उहाँले बताउनुभयो ।
कल्पनाको १९ दिने छोरा रहिस बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर छोरालाई जन्म दिनुभएकी उहाँ भूकम्पमा परेर घाइते समेत हुनुभएको थियो ।
त्यसै गरी मायाको श्रीमान् पूर्ण र छोरा प्रणवको पनि भूकम्पकै कारण मृत्यु भएको थियो । काखमा रहेकी छोरीलाई भूकम्पबाट जोगाउन सफल मायाको घर र जाजरकोटको रिम्ना बजारमा सञ्चालित व्यवसाय ध्वस्त भएको छ । दुवै जना पीडितहरू अहिले त्रिपालमुनि बसिरहेका छन् ।
सोमबार पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसी मार्फत पीडितहरूको घरमा गएर उक्त रकम उपलब्ध गराइएको हो । सहयोग रकम हस्तान्तरणमा सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकी, रिम्ना प्रहरी चौकीका निमित्त प्रमुख शेरबहादुर चन्द, घेत्मा स्वास्थ्य चौकीका प्रमुख देव बहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।