Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट पहिलो पटक गैर आवासीय नागरिकता वितरण सुरु 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गैर आवासीय नेपाली नागरिकता वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबारबाट गैर आवासीय नागरिकता वितरण सुरु गरेको हो । नेपालको संविधान, नेपाल नागरिकता ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल अमेरिकामा रहनुभएका बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ का खड्कबहादुर पुन मगर र उहाँकी श्रीमती हिरा मगरलाई गैर आवासीय नागरिकता प्रदान गरिएको हो । सोमबार पहिलो र दोस्रो गैर आवासीयको रूपमा श्रीमान् र श्रीमतीलाई नागरिकता वितरण गरिएको हो । 

जिल्लाबाटै गैर आवासीय नागरिकता वितरण सुरु भएकाले गैर आवासीय नागरिकता लिन चाहनेहरूलाई प्रक्रिया पुर्‍याएर प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । उहाँका अनुसार गैर आवासीय नागरिकताको लागि सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरी उतैको नागरिकता लिएको हुनुपर्ने छ । त्यस्तै नेपालको नागरिकता त्यागेको हुनुपर्ने उहाँको भनाई छ । 

गैर आवासीय नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रयोग गर्न पाउने कानुनमा उल्लेख छ । गैर आवासीय नागरिकता प्राप्त गर्दा कुनै शुल्क नलाग्ने र अन्य सर्वसाधारण व्यक्ती सरह नागरिकता प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update