Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा साढे तीन वर्ष अघि घटेको सोती घटनाको फैसला भएको छ । तीन दिनको निरन्तर सुनुवाइ पछि जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्ष देखिको मुद्धामा फैसला गरेको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा लगाइएका एक नाबालक सहित २४ जनालाई जन्मकैदको फैसला गरेको हो । कर्तव्य ज्यानमा जन्मकैद सुनाइएका मध्ये मल्ल र ठकुरी थरकालाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो । त्यस्तै नाबालिका सहित दुई जनालाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाको भनाई छ । उहाँका अनुसार आठ जनाले सफाइ पाएका छन् ।

जन्मकैद सजाय पाउनेमा चौरजहारी नगरपालिका वडा नम्बर ८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) १, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी रहेको सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नविनकुमार घर्ती मगर (जि.एम.), बिराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) लाई पनि जन्मकैद सजाय फैसला भएको छ ।

२३ जना कारागारमै रहेका छन भने परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९ लाई अभिभावकको संरक्षणमा छाडिएको थियो । परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) लाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले जानकारी गराउनुभयो । यसै घटनाका प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, इन्द्रबहादुर बुढा, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दले भने सफाइ पाएका छन् ।  

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर २०७७ साल जेठ १० गते जाजरकोटका नवराज सहित उनका साथीहरु जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जिव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको सोतीमा हत्या भएको थियो । 

यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा थिए भने ११ जनालाई तारेखमा छाडिएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update