Kakhara सबैको खबर सम्पूर्ण खबर
अदालतकाे फैसलापछि नवराजका बुवा भन्छन् न्यायको आशा मरिसकेको थियो  

जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्ष अघिको सोती घटनाको फैसला गरेको छ । जाजरकोटका नवराज विक सहित ६ जना युवाको हत्या भएको घटनामा फैसला भएपछि नवराजका बुवा मुनलाल नेपालीले अदालतको फैसलाप्रति सन्तुष्ट रहेकाे प्रतिक्रिया दिनुभएको छ । मङ्गलवार अदालतको फैसला आए लगत्तै कखरा सँगको कुराकानीमा उनले अदालतको फैसलाप्रति पूर्ण सन्तुष्ट रहेको बताउनुभएको हो । 

‘छोरा त मरिसक्यो तर न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो, साढे तीन वर्षसम्म चयनको श्वास लिएनौँ, उहाँले भन्नुभयो–अब चयन मिलेको छ, अदालतको फैसलाप्रति सन्तुष्ट छौँ ।’ साथै उहाँले न्यायको आशा मर्दै गएका बेला न्याय पाएपछि खुसी व्यक्त गर्नुभयो । आफूहरूको न्याय पाउने आशा मरिसकेको अवस्थामा अदालतको फैसला आएको उहाँको भनाई छ ।

‘यति लामो समय बितिसकेको थियो, हामीले त न्यायको आशा मारिसकेका थियौँ, न्याय पाउँला भन्ने लागेकै थिएन, आज श्रीमानले जुन फैसला गर्नुभयो, हामी निकै हर्षित छौँ, अदालतप्रति आभारी छौँ, उहाँले भन्नुभयो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले आज सोती घटनामा फैसला गर्दै २४ जनालाई जन्म कैद, दुई जनालाई दुई वर्ष कैद र ५० हजार जरिवाना तथा आठ जनालाई सफाइ दिएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update