Kakhara सबैको खबर सम्पूर्ण खबर

सोती घटनाको फैसला भएपछि पीडित परिवारले रुकुम अदालतलाई ढोगेका छन् । आफूहरूले न्याय पाएको भन्दै जाजरकोटका नवराज विक सहित ६ जना युवाका परिवारले अदालतलाई ढोगेर धन्यवाद दिएका हुन् । बाजागाजा सहित अदालत नजिक पुगेका उनीहरूले अदालतलाई ढोग्नुका साथै न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिए भने खुसीयाली मनाएका छन् । उनीहरूले न्याय नमरेको बताए । खलङ्गाको त्रिवेणी चोकबाट अदालत मुनि पुगेका उनीहरू खलङ्गा बजार परिक्रममा गरेर कालिका स्थानमा पुगेका थिए । त्यहाँ कोणसभा भएको थियो । त्यस क्रममा दलित अधिकारकर्मी तथा न्यायका लागि लडेकाहरूले सम्बोधन गरेका थिए ।

पीडितलाई न्याय दिइएको भन्दै उनीहरूले अदालतलाई धन्यवाद दिँदै खुसी साटासाट गरेका थिए । पीडित परिवारले अदालतको फैसलाबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । मृतक गोविन्द शाहीकी आमा भिमिकुमारी बुढाथोकी शाहीले लामो पर्खाइ र सङ्घर्षपछि न्याय पाएको बताउनुभयो । आफूहरूलाई न्याय नपाइने हो की भन्ने लागेका बेला अदालतले न्याय दिएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । तीन वर्ष देखि आफूहरू बेचैन अवस्थामा रहेकामा मङ्गलवार देखि भने सुखको अनुभूति भएको उहाँको भनाई छ । ‘हामीले ६ वटा छोरो गुमाएका थियौँ, तर देश तथा विदेशमा हाम्रा लागि हजारौँ छोराहरूले साथ दिए र आज हामीले न्याय पाएका छौँ, उहाँले भन्नुभयो–हामी निकै खुसी छौँ ।’

नवराजका बुबा मुनलाल नेपालीले दोषीलाई जन्मकैदको सजाय भए पनि विभिन्न बहानामा छोडिने हो कि भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘गणतन्त्र दिवस, संविधान दिवस लगायतमा आमा माफी दिने प्रचलन छ, यसमा हाम्रा छोराहरू पर्ने हुन कि भन्ने चिन्ता लागेको छ, त्यस्तो नहोस् उहाँले भन्नुभयो ।’

त्यस्तै अर्का मृतक लाेकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले छोराहरूको आत्माले शान्ति पाउँदैन कि भन्ने डरको अन्त्य भएको बताउनुभयो । ‘हामी आमाहरू दिन रात रोएर बिताउने गरेका थियौँ, छोराहरूका हत्याराले सजाय पाउने होइनन् कि, उनीहरूको आत्माले शान्ति पाउने होइन कि भन्ने लागिरहन्थ्यो, उहाँले भन्नुभयो–तर गयराती देखि राम्ररी निन्द्रा परेको छ ।’ 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update