गत कात्तिक १७ गते जाजरकोटको रामी डाँडा केन्द्र विन्दु बनाएर गएको छ दशमलव ४ रेक्टर स्केलको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पुर्याएको क्षतिको विवरण आएको छ । नगरपालिकाका १४ वटै वडाको भौतिक संरचनाको क्षतिको पूर्ण विवरण आएको हो । नगरपालिका भर सङ्कलन गरेको विवरण अनुसार भूकम्पले क्षति पुर्याएको लाभग्राहीको सङ्ख्या झन्डै दश हजार रहको छ । पालिकामा ९ हजार ९ सय ६२ लाभग्राही पहिचान भएको आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार अव सोही आधारमा पहिचान भएका लाभग्राहीहरूले अस्थायी आवास निर्माणको लागि रकम पाउने छन् । जिल्ला विपत् व्यवस्थापन समितिबाट नगरपालिकामा अस्थायी आवास निर्माण गर्न साढे चार हजार लाभग्राहीहरूको लागि पहिलो किस्ता बापतको २५ हजारका दरले ११ करोड २५ लाख रकम गइसकेकाे छ । बाँकी पाँच हजार चार सय ६२ लाभग्राहीलाई भने पहिलो किस्ता बापतको रकम आउन बाँकी रहेको शाहले जानकारी दिनुभयो ।
नगरपालिकामा कति अस्थायी आवास बने र कति बन्न बाँकी छन् त्यसको भने अझै विवरण सङ्कलन भएको छैन । ‘विभिन्न राजनीतिक दलहरूले स्वयं सेवाको रूपमा अस्थायी आवास निर्माण गरिरहनु भएको छ, केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नु भएको छ, यसको यकिन वितरण नगरपालिकामा आएको छैन, विवरण सङ्कलन गरेर एक दुई दिनभित्र सबै वडा कार्यालयहरूलाई पठाउन भनेका छौ, एक दुई दिनमा निर्माण भएका अस्थायी आवासको विवरण आउँछ’ उहाँले भन्नुभयो ।
केही भूकम्प पीडित अस्थायी आवासमा बसे पनि धेरै भूकम्प पीडित अस्थायी आवास नबन्दा त्रिपालमै बसेका छन् । प्रभावित क्षेत्रमा अस्थायी आवास प्राय ठाउँमा बनिसकेका र केही ठाउँमा निर्माणको अन्तिम चरणमा रहेकाले मङ्सिर महिनाभित्र भूकम्पपीडित नगरवासीहरुलाई छाना मुनी ल्याउने गरी लागि परेकाे नगरप्रमुख रवि केसीले बताउनुभयाे ।