रुकुम पश्चिमको एक विद्यालयलाई वैवाहिक वर्षगाँठको अवसरमा एक दम्पतीले शैक्षिक सामग्री सहयोग गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई सरला खड्का र केशर खड्काको जोडीले शैक्षिक सामग्री सँगै नगद सहयोग गरेको हो । विवाह गरेको तीन वर्ष पुरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा सामाजिक कार्य अन्तर्गत विद्यालयलाई सहयोग गरिएको खड्का दम्पतीकाे भनाई छ ।
त्रिवेणी ७ खर्नेटा निवासी खड्का दम्पतीले बिहीबार विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री सँगै नगद रकम हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा अध्ययनरत १९ जना गरिब तथा जेहनदार विद्यार्थीहरूलाई एक दर्जन कापी, एक दर्जन कलम र एक हजार रुपैयाँका दरले १९ जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद सहयोग भएकाे प्रधानाध्यापक कृष्णा खड्का ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयलाई ५० हजार बराबरको सहयोग प्राप्त भएकाे छ ।
जसमा स्टेशनरीका सामान राख्नको लागि एउटा दराज पनि उपलब्ध छ । शैक्षिक सामग्री र नगद पाउनेहरूमा हिमा ओली, रेणुका विक, सोनिया परियार, सजना बाँठा, विमल पुन, टिका विक, सुवर्ण डाँगी, प्रकाश खड्का, कल्पना परियार, सुनिता विक, बिराज ओली, सोनी बाँठा, नरेश ओली, बिपना विक, खीमा ओली, अजय खड्का, नवीन केसी, उर्मिला केसी र प्रकाश डाँगी रहेका छन् । कक्षा १ देखि १० सम्म अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छनोट गरेर शैक्षिक सामग्री तथा नगद हस्तान्तरण गरिएको प्रअ ओलीले जानकारी दिनुभयो ।
कार्यवाहक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेका थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, ३ नम्बर वडा अध्यक्ष दीपेन्द्रकुमार ओली, वडा सदस्य रति दमाई, समाजसेवी वीरबहादुर ओलीको लगायतको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्र खड्काले गर्नुभएको थियो ।