रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्लीमा आयोजित पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा हेमन्त रोकाय र कविन्द्र पुनको जोडी पहिलो भएको छ । आज भएको फाईनलमा सिम्लीकाे भागिराम भण्डारी र भिमसेन केसीको जोडिलाई पराजित गर्दै सोही ठाउँकाे हेमन्त र कविन्द्रकाे जोडी पहिलो भएको हो ।
त्यस्तै फाईनलमा पराजित भागिराम र भिमसेनको जोडी दोस्रो हुँदा खलंगाको अनिल बुढामगर र ध्रुवविक्रम थापा तथा लोकेन्द्र केसी र लोकेन्द्र बुढामगरको जोडी सान्त्वना भएका छन् । प्रतियोगिताको पहिलो हुने जोडिले २० हजार नगद, दोस्रोले १५ हजार र सान्त्वना हुने दुई जाेडिले ५/५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
सानीभेरी गाउँपालिका–९, सिम्लीमा आयोजित प्रतियोगितामा जिल्लाका मुसीकोट, सानीभेरी, बाँफिकोट, चौरजहारी र आठबीसकोटका १९ जोडिले प्रतिस्पर्धा गरेका थिए । वडादशैंको अवसरमा सानीभेरी समाज विकास केन्द्रले कार्तिक ५ गतेदेखि प्रतियोगिता संचालन गरेको हाे । चाडवर्पका बेला भातृत्व र भाईचाराको विकास गर्ने तथा रमाइलो गर्ने उदे्श्यका साथ सतर्क रहदै सुरक्षा सतर्कता अपनाएर प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।।