Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पूर्वले पदाधिकारी थपघट गर्यो

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले पालिकामा पदाधिकारी थपघट गरेको छ । रुकुमकोटमा बसेको बैठकले तीन वटै स्थानीय तहका अध्यक्ष, सचिव थपघट गरेको हो । सिस्ने गाउँपालिकामा मन्सराम खड्कालाई अध्यक्ष बनाइएको छ भने सचिवमा कर्णबहादुर खत्रीलाई तोकिएको छ । भूमे गाउँपालिकाको अध्यक्षमा रुपधन कामीले निरन्तरता पाउनु भएको छ भने सचिवमा नारायण पुन चयन हुनुभएको छ । पुथाउत्तरगंगा गाउँपलिका सुरुल पुनले अध्यक्षमा निरन्तरता पाउँदा जीवन छन्त्याल सचिव बन्नुभएको छ । बैठकले २१ जनालाई जिल्ला समिति राख्ने गरी प्रदेशमा सिफारिस गरेको छ ।

निर्माण बुढा र तेजेन बुढालाई पार्टीले कारबाही गरेको छ । बैठकले पार्टीका जनवर्गिय संगठनका विभाग प्रमुख पनि तोकेको छ । महिला विभाग प्रमुखमा कुमारी बराल, विद्यार्थी विभाग प्रमुखमा जीवन केसी, युवा विभाग प्रमुख सुनिल रोका र दलित विभाग प्रमुखमा जिताराम कामीलाई तोकिएको छ । बुद्धिजिवि र शिक्षक विभाग प्रमुख पनि बैठकले चयन गरेको जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बैठकले पालिकाहरुका बैठक, वडा तथा सेल समितिका बैठक गर्ने निर्णय गरेको छ ।

पालिकाको साथै वडा र सेल समिति गठन र पुर्नगठनको साथै सबै जनवर्गिय संगठनको पनि गठन पुर्नगठनलाई व्यापकता बनाउने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वडामा कतै पदाधिकारी थपघट गर्नु परेपछि पालिकाले जिल्लामा सिफारिस गर्ने गरी निर्णय भएको छ । बैठकमा केन्द्रीय सदस्य कमला रोका, तेजबहादुर ओली र दलजित श्रीपालीले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । बैठकमा सिस्नेबाट मन्सराम खड्का, भूमेबाट रुपधन कामी र पुथाउत्तरगंगा गाउँपालिकाबाट सुरुल पुनले पार्टीको समग्र अवस्थाबारे रिर्पोटिङ गर्नुभएको थियो । 
    
 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update