गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडामा केन्द्र विन्दु बनाए गएको भूकम्पका कारण वडा कार्यालयमा क्षति पुगेपछि त्रिपालबाट सेवा प्रवाह गरिरहेको एक वडा कार्यालयले एक महिनापछि अस्थायी संरचनाबाट सेवा प्रवाह सुरु गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ ले बिहीबार देखि जस्ता पाताकाे छाप्राे निर्माण गरी सेवा प्रवाह सुरु गरेको हो । भाडामा बस्दै आएको घर गत भूकम्पले बस्नै नमिल्ने गरी क्षति गरेपछि वडा कार्यालयको कामकाज त्रिपालबाटै भइरहेको थियो ।
बिहीबार देखि भने अस्थायी संरचनाबाट सेवा प्रवाह सुरु गरिएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी उक्त संरचना वडा कार्यालयकै जग्गामा निर्माण गरिएको छ । भाडाको घर भन्दा करिब २ किलोमिटर टाढा मेल पोखरी नजिकै वडा कार्यालयको अस्थायी संरचना निर्माण गरिएको हो । उक्त छाप्राे तीन कोठाको रहे पनि अझै दुई कोठा अभाव रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । कर्मचारी, जनप्रतिनिधि, र भण्डार कक्षको लागि व्यवस्थापन भए पनि न्यायिक परामर्श, छलफल गर्नका लागि दुई वटा कोठा अभाव रहेको छ ।
अस्थायी संरचना निर्माण गर्न काठ, जस्तापाता लगायत अन्य व्यवस्थापन गर्दा डेढ लाखसम्म खर्च लागेको अनुमान गरिएको छ । अझै वडा कार्यालयमा विद्युत्, इन्टरनेट जडानका गर्न बाँकी रहेको बताइएको छ । गाउँपालिकाको सशर्त अनुदान अन्तर्गत वडामा १ लाख बजेट भए पनि बाँकी रकम भने अपुग हुने देखिएको वडा अध्यक्ष खड्काको भनाई छ ।वडा कार्यालयलाई अस्थायी शौचालय भने गाउँपालिकाले उपलब्ध बनाएको छ ।
त्रिपालबाट भन्दा अव सहज भएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालय भवन बनाउन गत वर्ष स्थानीय शिवहरी खड्काले ५ सय ५० वर्ग मिटर, नेपबहादुर खड्काले २ सय ५० वर्ग मिटर र टिकाराम केसीले ७ सय गरेर १५ सय वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध बनाउनु भएको थियो । बजेट अभावका कारण वडा कार्यालयको आफ्नै भवन बनाउन भने सकिरहेको छैन ।