Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका पत्रकारले बनाइदिए तीन वटा अस्थायी आवास 
पत्रकारले आठबीसकाेट नगरपालिका वडा नम्बर ११ मा स्थानीय घमन्डबहादुर मल्लकाे अस्थायी आवास ।

रुकुम पश्चिमका पत्रकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गरेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ रिठामा शनिवार एक दिन स्वयंसेवा मार्फत जिल्लास्थित पत्रकारहरूले तीन वटा अस्थायी आवास निर्माण गरेका हुन् । स्थानीय घमन्डबहादुर चन्द, दीपेन्द्र मल्ल र विमला शाहीको आवास निर्माण गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । काठ, जस्ता लगायतका स्थानीय सामग्रीको प्रयोग गरी अस्थायी आवास निर्माण गरिदिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुई वटा दुई–दुई कोठे र एउटा चार वटा कोठा निकाल्न मिल्ने आवास निर्माण गरिएको हो ।

WhatsApp Image 2023-12-09 at 17.58.45_f56c9fd61702175842.jpg

उक्त ठाउँमा अहिलेसम्म कुनै पनि अस्थायी आवास निर्माण हुन सकेका थिएनन् । सबै भूकम्प प्रभावित पालमुनि बस्दै आएका छन् । रिठामा पहिलो पटक अस्थायी आवास निर्माण भएको अध्यक्ष केसीले बताउनुभयो । अस्थायी आवास पाएपछि भूकम्प प्रभावित मक्ख परेका छन् । घमन्डबहादुर चन्दले घरमा बुढाबुढी मात्र रहेको र अहिलेसम्म अस्थायी आवास गर्न नसिकिएकोमा पत्रकारहरूको टोलीले आवास निर्माण गरिदिएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘म सँग आवश्यक सबै सामग्री थिए, तर एक्लै बनाउन सक्ने अवस्था थिएन, घरमा हामी बुढाबुढी मात्र छौँ, पत्रकारहरू आएर दिनभर लगाएर घर बनाइदिनुभयो, अब पालबाट टहरामा बस्दा सुरक्षित र न्यानो हुने भयो, ६२ वर्षीय चन्दले भन्नुभयो ।’

408192804_10220196112611971_104448011131621462_n1702175962.jpg

विपत्तिको घडीमा पत्रकारहरू पनि साथमा छन् भन्ने सन्देश दिनका लागि एक दिनको स्वयंसेवा मार्फत अस्थायी आवास निर्माणमा खटिएको अध्यक्ष केसीको भनाई छ । ‘यो देखाउनका लागि नभई सन्देशका लागि गरिएको काम हो, हामीले भूकम्प गएको दिन देखि नै पत्रकारिता मार्फत भूकम्प प्रभावितका समस्या उठाइरहेका छौँ, अहिले चिसोले भूकम्प प्रभावितले ज्यान गुमाइरहेको अवस्थामा अस्थायी आवासको निकै आवश्यकता छ, उहाँले भन्नुभयो–अब छिटो भन्दा छिटो अस्थायी आवास बनाउनुपर्छ भन्ने सन्देश दिन हामीले एक दिन स्वयंसेवा गरेका हौँ ।’ अस्थायी आवास निर्माणमा २१ जना पत्रकारहरू खटिएका थिए ।

408141636_10220196113852002_5028311682692908057_n1702175975.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update