Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा युवा युवतीलाई पुजी बजार तथा साक्षरता सम्बन्धी एक दिने तालिम 

रुकुम पश्चिममा एक दिने पुजी बजार सम्बन्धी साक्षरता तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका १ खलङ्गामा भएको तालिममा पुजी बजार तथा शेयर कारोवार सम्बन्धी चासो राख्ने युवा तथा युवतीहरूको सहभागिता रहेको आयोजक संस्था रूपान्तर नेपाल रुकुम पश्चिमका संस्थापक अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो । तालिमका लागि आर्थिक सहयोग मर्चेट यसोसियट बैङ्कको रहेको थियो । 

पुजी बजार सम्बन्धी नेपाल धितो पत्र बोर्डका उप कार्यकारी निर्देशक नारायणप्रसाद शर्मा र सहायक निर्देशक विपिन ओझाले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । सहभागीहरूलाई धितो पत्रको बजारमा (शेयर) प्रवेश कसरी गर्ने, प्राथमिक बजार भनेको के हो, धितो पत्रको दोस्रो बजारको महत्त्व, नेपाल स्टक एक्सचेन्जका कार्यहरू, धितो पत्र बजारमा गरिने लगानीबाट अपेक्षा, धितो पत्र उपकरण तथा औजारहरू र लगानीको जोखिम स्तरका बारेमा प्रशिक्षण दिएको नेपाल धितो पत्र बोर्डका उप कार्यकारी निर्देशक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार धितो पत्र व्यवसाय, सामूहिक लगानी योजना, मर्चेट बैंकर, धितो पत्र दलाल, धितो पत्र सम्बन्धी कसुर, वित्तीय साक्षरता र महत्वको विषमा पनि जानकारी बनाइएको थियो । 

पुजी बजार सम्बन्धी साक्षरता तथा क्षमता अभिवृद्धि तालिममा २१ जना प्रशिक्षार्थीको सहभागिता रहको थियो । याे तालिम सोमबार आठबीसकोट नगरपालिकाको वडा नम्बर ९ राडीमा र मङ्गलवार चौरजहारी नगरपालिको हलमा सञ्चालन गरिने संस्थापक अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार धितो पत्रको सम्पूर्ण जानकारी लिई आर्थिक रूपमा व्यक्ति तथा समाजलाई आत्मनिर्भर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । 

पुजी बजार तथा क्षमता अभिवृद्धि तालिममा सहभागी भएका सहभागीहरूले सिकेका कुरा कार्यान्वयन गरी धितो पत्र बोर्डबाट लाभ लिन सके आर्थिक रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ । रुपान्तर नेपालले हाल स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र दैवी प्रकोप व्यवस्थापनमा काम गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update