Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही पहिचान, लाभग्राही संख्या ३० हजार पुग्ने अनुमान  

रुकुम पश्चिममा भूकम्प प्रभावित २५ हजार परिवारको पहिचान भएको छ । जिल्लामा हालसम्म २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको हो । जिल्लाका ६ वटै पालिकामा गरेर हालसम्म २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । 

उहाँका अनुसार लाभग्राहीकाको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्न सक्ने अनुमान गरिएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसिकोट नगरपालिका तथा त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकामा गरेर १९ हजार एक सय ३४ परिवार लाभग्राहीहरूलाई अस्थायी आवास निर्माण गर्नको लागि प्रति घर २५ हजारका दरले ४७ करोड ८३ लाख ५० हजार रकम स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाई सकिएको छ । 

सङ्घीय सरकारले पठाएको ५० करोडमा अब केही रकम मात्र बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवाले जानकारी दिनुभयो । ‘‘२५ हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणको लागि पठाएको ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ’’ उहाँले भन्नुभयो । 

क्षतिकाे पूर्ण विवरण सङ्कलनको काम एक महिना बढी समय पुग्दा पनि सकिएको छैन । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भूकम्पले बढी मानवीय सँगै भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको आठबीसकोट नगरपालिकाले भने अस्थायी आवास निर्माण गर्नुपर्ने सबै घर परिवारको पहिचान गरिसकेको छ । नगरपालिका भरमा नौ हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्य सात हजार परिवारका लागि पहिलो किस्ता नगरपालिकाको कोषमा जम्मा भइसकेको छ । केही लाभग्राहीको खातामा रकम गइसके पनी केही लाभग्राहीहरूको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैङ्क हुँदा खाता खोल्न समस्या भएको लाभग्राहीको गुनासो छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update