भूकम्पले घरमा क्षति गरेपछि अस्थायी आवास निर्माणका लागि सङ्घीय सरकारले रुकुम पश्चिममा पठाएको ५० करोड मध्ये झन्डै ४८ करोड बढी स्थानीय तहमा पठाइएको छ । आजसम्म जिल्लाका ६ वटा स्थानीय तहमा ४७ करोड ८३ लाख ५० हजार स्थानीय तहमा पठाइएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ ।
अहिलेसम्म १९ हजार एक सय ३४ परिवारका लागि पहिलो किस्ता बापत उक्त रकम स्थानीय तहमा पठाइएको समितिको भनाई छ । सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीका लागि १७ करोड ५० लाख पहिलो किस्ता पठाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ७९ लाभग्राहीका लागि १५ करोड ६९ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा दुई हजार दुई ७१ लाभग्राहीका लागि पाँच करोड ६७ लाख ७५ हजार, त्रिवेणी गाउँपालिकामा दुई हजार ६९ लाभग्राहीका लागि पाँच करोड १७ लाख २५ हजार, बाँफिकोट गाउँपालिकामा आठ सय ९९ परिवारका लागि दुई करोड, २४ लाख ७५ हजार र मुसिकोट नगरपालिकामा पाँच सय ६६ लाभग्राहीका लागि एक करोड ४१ लख ५० हजार रुपैयाँ पठाइएको उहाँले बताउनुभयो ।
सङ्घीय सरकारबाट अस्थायी आवासका लागि ५० करोड जिल्ला आएको थियो । त्यसमा अब दुई करोड १६ लाख ५० हजार रुपैयाँ मात्र बाँकी रहेको छ । जिल्लामा हालसम्म २५ हजार लाभग्राहीको पहिचान भएको छ भने अझै पाँच हजारको हाराहारीमा लाभग्राही थपिने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।
जिल्लामा ३० हजारको हाराहारीमा लाभग्राही रहने देखिएको र अहिलेसम्म १९ हजार एक सय ३४ परिवारका लागि मात्र पहिलो किस्ता गएको सन्दर्भमा बाँकी रकम माग गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाबाट ठुलो रकम स्थानीय तहमा गए पनि सबै लाभग्राहीको हातमा भने अझै पनि पहिलो किस्ता पुग्न सकेको छैन । जिल्लामा अहिलेसम्म झन्डै सात हजार लाभग्राहीले मात्र पहिलो किस्ता पाएको देखिएको छ । सबै लाभग्राहीको बैङ्क खाता नहुनु, मुचुल्का तयार हुन समय लाग्नु लगायतका कारणले पहिलो किस्ता वितरणमा ढिलाइ भइरहेको स्थानीय तहहरूको भनाई छ । यद्धपि रकम वितरणलाई तीव्र पारिएको पालिकाले बताइरहेका छन् ।