रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा राजनीतिक दलहरूको सक्रियता देखिएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पले क्षति पुर्याएपछि उद्धार तथा राहत वितरणमा सक्रियता देखाएका राजनीतिक दलहरूले अस्थायी आवास निर्माणमा पनि सक्रियता देखाएका छन् । स्वयं सेवाको रूपमा राजनीतिक दलहरूले पार्टीका नेता तथा कार्यकर्ताहरू परिचालन गरेर प्रभावित ठाउँमा अस्थायी आवास निर्माण गरिरहेका छन् । हाल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियता देखिएको छ ।
अस्थायी आवास निर्माण गर्न तीन हजार बढी स्वयंसेवक परिचालन गरेर हालसम्म जिल्लाका ६ वटै पालिकामा तीन हजार एक सय ६८ अस्थायी आवास निर्माण गरेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । माओवादीले जिल्ला पार्टी र जन वर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गरेको छ । यसको नेतृत्व पार्टीका केन्द्रीय उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गरिरहनुभएको छ । उहाँका अनुसार भूकम्पले बढी प्रभावित बनाएको आठबिसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा ६ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सय सात, मुसिकोट नगरपालिकामा २४ र बाँफिकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो ।
पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्ध वृद्धा र आफै अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताउनुभयो । छिटो भन्दा छिटो भूकम्प पीडितलाई अस्थायी आवासमा ल्याउनको लागि पार्टी निरन्तर लागि रहेको उहाँको भनाई छ ।
त्यस्तै नेपाली काँग्रेस रुकुम पश्चिमले पनि भूकम्प प्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ । हालसम्म नेपाली काग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबीसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिरहेको छ । पार्टीले प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माण गर्ने योजना अनुसार काम गरिरहेको प्रवक्ताओलीले जानकारी दिनुभयो ।
नेकपा एमालेले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ । मङ्सिर पाँच गते देखि अस्थायी आवास निर्माणमा जुटेको एमालेले आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाँफिकोट गाउँपालिकामा तीन सय स्वयंसेवक परिचालन गरेर उक्त सङ्ख्यामा अस्थायी आवास निर्माण गरि भूकम्प पीडित परिवारलाई हस्तान्तर गरेको पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट दुई सय ५० जना र जिल्लाका ५० जना गरेर तीन सय स्वयंसेवक परिचालन भएका थिए । पार्टीले १३ समूह बनाएर प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम गरेको थियो । मङ्सिर १९ गते जिल्ला बाहिरको स्वयंसेवक समूह गइसकेपछि अब जिल्ला भित्रैको स्वयंसेवक समूहले अस्थायी आवास निर्माण गरिरहेको एमालेले जनाएको छ । पार्टीले हालसम्म आठबीसकोट नगरपालिकामा एक सय ८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफिकोट गाउँपालिकामा १२ गरेर जिल्लाभर तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ । त्यस्तै २६ वटा अस्थायी सिकाई केन्द्र र आठ वटा अस्थायी शौचालय निर्माण गर्नुका साथै दुई सय १९ भग्नावशेष व्यवस्थापन गरिएको नेकपा एमालेले रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोट नगरपालिका १४ जामिरेकोटमा निर्माण गरिएका १९ वटा अस्थायी आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको उहाँको भनाई छ । उहाँका अनुसार पार्टीले ३० जना स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माणको काम गरिरहेको छ । पार्टीले तत्कालको लागि आठबीसकोट नगरपालिकामा ४०, सानीभेरी गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकामा दश-दश वटा तथा त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा पाँच-पाँच वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । आठबीसकोट नगरपालिकाका मृतक १० परिवारलाई र सानीभेरीमा गाउँपालिकामा एकल तथा अस्थायी आवास बनाउन नसक्ने अवस्थाका ७ घरपरिवारको लागि अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको पार्टीका कर्णाली प्रदेश नीति तथा योजना विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले ३० जना स्वयंसेवक परिचालन गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिका ५७ वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य लिएको उहाँको भनाई छ । केही अस्थायी आवास निर्माण गर्दा जस्तापाता, किला लगायत आवश्यक पर्ने सामग्री पार्टीले खरिद गरेर निर्माण गरिदिएको हो भने बाँकी ठाउँहरुमा स्थानीय कच्चा पदार्थ जे उपलब्धता छ त्यही सामग्री प्रयोग गरेर अस्थायी आवास निर्माण गरिदिएको पार्टीले जनाएको छ । हालसम्म राजनीतिक दलहरूको विवरण अनुसार जिल्लामा तीन हजार छ सय ३५ अस्थायी आवास निर्माण भएका छन् ।
राजनीतिक दल तथा अन्य सङ्घ संस्थाहरूले अस्थायी आवास निर्माण गरे पनि स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग तथ्याङ्क छैन । स्थानीय तहबाट अस्थायी आवास निर्माणको विवरण नआउन्जेल कति निर्माण भए, कति निर्माण हुन बाँकी छन् भन्न सकिने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । ‘हामीले स्थानीय तहहरुलाई अस्थायी आवास निर्माणको विवरण सङ्कलन गरेर पठाउन भनेका छौँ, विवरण आएपछि थाहा हुन्छ, अहिले हामीले यति निर्माण भयो, यति निर्माण गर्न बाँकी छ भनेर भन्न सकिने अवस्था छैन । स्थानीय तहहरुले विवरण पठाएपछि मात्र अस्थायी आवासको विवरण थाहा हुन्छ ’’ बढुवालले भन्नुभयो ।
अस्थायी आवास निर्माणको लागि भने जिल्ला प्रशासनले धमाधम पहिलो किस्ताको रकम पठाइरहेको छ । हालसम्म १९ हजार १ सय ३४ लाभग्राहीलाई पहिलो किस्ता बापतको २५ हजारका दरले ४७ करोड ८३ लाख ५० हजार रकम स्थानीय विपत् जोखिम न्यूनीकरण कोषमा पठाएको विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । जिल्लामा अस्थायी आवास निर्माणको लागि २५ हजार प्रहरी मुचुल्का सङ्कलन भएको र बाँकी ५ हजार लाभग्राही थपिने अनुमान जिल्ला प्रशासन कार्यालयले रुकुम पश्चिमले गरेको छ ।