गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट रुकुम पश्चिममा मृत्यु भएका घरपरिवारका सदस्यहरूलाई राष्ट्रिय बिमा कम्पनीले बिमा रकम प्रदान गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विपत् बाट मृत्यु भएमा प्रति व्यक्ती दुई लाखका दरले राहत रकम उपलब्ध बनाउने गरी राष्ट्रिय बिमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागु हुने गरी प्राकृतिक विपत् दुर्घटना बिमा कार्यक्रम सुरु गरेको थियो । सोही कार्यक्रम अनुसार राष्ट्रिय बिमा कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य तथा हकवालालाई नगद हस्तान्तरण गरेको हो ।
राष्ट्रिय बिमा कम्पनी, बिमा प्राधिकरण र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी लगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ जना मृतक परिवारका हकवालालाई प्रति व्यक्ति दुई लाखका दरले ६८ लाख रकम प्रदान गरिएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिमा कम्पनीको समूह तथा मन्त्री लगायतको समूहले नगरपालिकामै पुगेर मृतक परिवारका सदस्यहरूलाई चेक हस्तान्तरण गरेको हो ।
बाँकी आठ जना मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ । यस्तै सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ जना मृतक परिवारका सदस्यहरूलाई पनि राष्ट्रिय बिमा कम्पनीले दुई लाखका दरले राहत उपलब्ध बनाएको सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकका परिवारलाई वडामै पुगेर दुई लाखका दरले २४ लाख रकम उपलब्ध बनाइएको हो । चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको थियो । उक्त परिवारले प्राकृतिक विपत् बापतको बिमा रकम पाउन बाँकी रहको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
जिल्लाका ४६ जना मृतकका परिवारले नगद रकम पाउँदा अझै ९ जनाका परिवारले नगद रकम पाउन बाँकी छ । गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्चिमा ५३ जनाको मृत्यु भएको थियो ।