Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटका चार हजार बढी लाभग्राहीले पाए अस्थायी आवासको लागि पहिलो किस्ता 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चार हजार बढी लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आइतबारसम्म सात हजार लाभग्राही मध्ये चार हजार दुई सय ८२ लाभग्राहीको खातामा २५ हजारका दरले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका हुन् ।

अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापत २५ हजारका दरले चार हजार दुई सय ८२ लाभग्राहीकाे खातामा १० करोड ७० लाख ५० हजार रकम पठाएको आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपत् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीको लागि पहिलो किस्ता बापत १७ करोड ५० लाख रकम प्राप्त भएको छ । 

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीहरुको सङ्ख्या यकिन भएको छ । अब जिल्ला विपत् व्यवस्थापन कोषबाट पहिलो किस्ता बापत दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । जिल्ला विपत् व्यवस्थापन कोषबाट स्थानीय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन कोषमा प्राप्त भएको रकम बैङ्क खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । 

हालसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भई सकेको र बाँकी तीन हजार ६ सय ९० अस्थायी आवस निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ । जिल्ला विपत् व्यवस्थापन कोषमा सङ्घीय सकारबाट प्राप्त भएको ५० करोड रकम अस्थायी आवास निर्माण गर्न अपुग भएकाले थप रकम माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update