कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रलाई कर्णालीको अभिन्न अङ्ग बनाइने बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभयो । अन्य क्षेत्र जस्तै कर्णाली समृद्धिको अभिन्न अङ्ग खेलकुद क्षेत्र हुने उहाँको भनाई छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरको कालिन्चोक क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री शर्माले खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शुभारम्भ हुनु कर्णाली समृद्धिको अङ्गका रूपमा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो- 'कर्णाली खेलकुदका क्षेत्रमा बिस्तारै माथि उठ्दै छ, पूर्वाधार निर्माण र खेल प्रतियोगितामा हासिल गरेको प्रगतिले एक दिन कर्णालीको राष्ट्रिय पहिचान बनाउने छ, खेलकुदमा अब्बल कर्णाली बनाउनेमा हामी प्रतिबद्ध छौँ ।'
साथै, मुख्यमन्त्री शर्माले अहिले कर्णाली सरकार प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको बताउनुहुँदै यसपश्चात् कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरूमा समेत खेलकुद पूर्वाधार निर्माण गरिने जानकारी दिनुभयो ।खेलकुद विकास गर्नको पूर्वाधार, प्रतियोगिता, प्रोत्साहन तथा कार्यक्रम आत्मसात् गरेर काम गर्ने मुख्यमन्त्री शर्माको भनाई छ ।
कालिन्चोक क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यसका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद् बिच निर्माण सम्झौता भएको छ । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानमा क्रिकेट पिच, माटो काटेर अर्ध नाली निर्माण, लेबल मिलाउने, दूबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।
यसैबिच प्रधानमन्त्री कपमा सहभागिता जनाउने महिला क्रिकेट खेलाडीहरूलाई बिदाइ समेत गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, नेपाल क्रिकेट सङ्घका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्का, जिल्ला क्रिकेट सङ्घ सुर्खेतका अध्यक्ष श्रीधर केसी लगायत खेलाडी र खेल सम्बद्ध पदाधिकारीहरूको उपस्थिति भएको थियो ।