विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भूकम्प पीडित एकीकृत जनसहायता अभियान अन्तर्गत सञ्चालित विभिन्न गतिविधि सार्वजनिक गरेको छ । अभियान मार्फत पार्टीले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेका गतिविधिहरूको बारेमा भूकम्प पीडित एकीकृत जनसहायता टिम इन्चार्ज तथा राप्ती ब्युरो प्रमुख सविन सीले प्रेस विज्ञप्ति मार्फत जानकारी बनाउनुभएको हो ।
उहाँका अनुसार भूकम्प पीडित एकीकृत जनसहायता घुम्ती टिमले रुकुम पश्चिम र सल्यानमा एक सय भन्दा बढी भत्किएका घरहरूको व्यवस्थापन, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १३ मा रहेको जनजागरण माध्यमिक विद्यालयको भत्किएको भवन व्यवस्थापन गर्नुका साथै अस्थायी सिकाई केन्द्र निर्माण गरेका छ । त्यस्तै रुकुम पश्चिममा १ सय ५६ र सल्यानमा ५२ गरी कुल दुई सय आठ वटा अस्थायी आवास निर्माण सम्पन्न भएको एकीकृत जनसहायता अभियानले जनाएको छ ।
जस्तापाता तथा स्थानीय सामग्री प्रयोग गरेर हालसम्म एक हजार ४० भूकम्प पीडित नागरिकलाई अस्थायी आवासमा फर्काउनुका साथै एक सय २० जना विद्यार्थीलाई अस्थायी सिकाई केन्द्रमा सारिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ-'उद्धार, राहत र अस्थायी आवास निर्माण गरी हामीले तीन चरणमा अभियान चलाएका छौँ ।
यी सबै अभियानहरूमा महासचिव विप्लव सी र पार्टीको निर्देशनमा रोल्पा, दाङ देउखुरी, कपिलवस्तु, रुपन्देही, नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान तथा भूकम्प प्रभावित जिल्ला पश्चिम रुकुम र सल्यानका चार सय ५० भन्दा बढी स्वयंसेवकहरू अभियानात्मक ढङ्गले फिल्डमा अहोरात्र खटेका थिए ।' मङ्सिर २० गतेबाट सुरु भएको तेस्रो चरणको अभियान सम्पन्न भएको पार्टीले जनाएको छ ।
त्यस्तै कात्तिक २४ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी पार्टीको आफ्नै खाद्य भण्डारको चामल र विभिन्न सहयोगी मनहरूले उपलब्ध गराएको एक कन्टेनर राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान पुगेर सबै सामग्रीहरू स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीलाई प्रभावित जनतासम्म पुर्याउने गरी हस्तान्तरण गर्नुका साथै जाजरकोटको च्युरीडाँडाका भूकम्प पीडित कले विक र रुकुम पश्चिम घेत्माका आफन्त गुमाएका नागरिकको दुःख, पीडा र शोकमा सहभागी हुँदै आठविसकोट नगरपालिका १४ छेपारेका भूकम्प पीडित मानबहादुर विकको अस्थायी आवास पार्टीका महासचिव विप्लव सीको नेतृत्वमा सम्पन्न गरिएको पार्टीले जनाएको छ ।
यो अभियान अभियान कात्तिक २७ गतेसम्म महासचिव विप्लव सीको प्रत्यक्ष उपस्थितिमा चलेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन भएको एकीकृत जनसहायता अभियान जारी रहने पार्टीले जनाएको छ । साथै नेकपाले नगरेको काम गरेका छौँ भन्दै अनुचित प्रचारबाजी गरेर पीडित जनतालाई थप आघात पुग्ने काम नगर्न विभिन्न पक्षहरूलाई अनुरोध समेत गरेको छ ।