Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प: चौरजहारीमा आठ हजार बढी लाभग्राही पहिचान, विवरण सङ्कलनको काम अझै जारी

गत कात्तिक १७ गते राती जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा क्षेति गरेका आठ हजार तीन सय ८३ लाभग्राही पहिचान भएका छन् । सोमबारसम्म नगरपालिकामा आठ हजार तीन सय ८३ लाभग्राही पहिचान भएका हुन् । लाभग्राहीको विवरण सङ्कलनको काम भने अझै जारी रहेकाले लाभग्राहीको सङ्ख्या बढ्न सक्ने चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटै वडाका विभिन्न ठाउँमा एक सय ९३ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । 

आंशिक क्षति भए पनि बस्नै नमिल्ने गरी ६ हजार ८ सय ९९ घरमा क्षति पुगेको छ । सामान्य चर्केका घरहरूको सङ्ख्या एक हजार दुई सय २४ रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । सामान्य चर्केका घरहरू समेत गरेर हालसम्म नगरपालिकामा आठ हजार तीन सय ८३ लाभग्राही पहिचान भएको र ती लाभग्राहीको घर बनाउनुपर्ने देखिएको उहाँले जानकारी दिनुभयो । घर छोडेर टाढा गएकाहरू पनि आउने क्रम जारी रहेकाले लाभग्राहीको सङ्ख्या अझै बढ्ने नगरपालिकाले अनुमान गरेको छ । 

अस्थायी आवास निर्माण गर्न ६ हजार दुई सय ७९ लाभग्राहीको लागि पहिलो किस्ता बापत जिल्ला विपत् व्यवस्थापन कोषबाट नगरपालिकामा १५ करोड ६९ लाख ७५ हजार प्राप्त भएको छ । जसमध्ये चार हजार एक सय ९३ लाभग्राहीको खातामा १० करोड ४८ लाख २५ हजार रकम पठाएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update