रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका नागरिकले अब देखि जिल्ला मालपोत कार्यालयबाट सेवा नपाउने भएका छन् । आठबिसकोटमै मालपोत कार्यालय स्थापना भएपछि अब देखि त्यहाँका नागरिकले आठबिसकोटमै मालपोत सेवा पाउने भएका हुन् । आज जिल्ला मालपोत कार्यालयले एक सूचना जारी गर्दै साबिक स्यालाखदी, गोतामकोट, आठबिसकोट, आठबिसडाँडागाउँ, घेत्मा गाविस पुरा र मग्गा गाविसको ७ र ८ नम्बर वडाका सबै मोठ स्रेस्ताहरू र रोक्का डायरीहरू मालपोत कार्यालय आठबिसकोटलाई बुझाई बरबुझारथ गरिएको जनाएको छ ।
कार्यालय प्रमुख ओमबहादुर खत्रीले अब मालपोत सम्बन्धी सबै सेवा आठबिसकोटबाटै प्रवाह हुने भएकोले त्यस क्षेत्रका नागरिकलाई सेवाका लागि जिल्लामा नआउन आग्रह गर्नुभएको छ । साबिकका पाँच गाविस पुरै र एक गाविसका दुई वडा अर्थात् हालको आठबिसकोट नगरपालिकाका सबै नागरिकहरूले आठबिसकोटको राडीमा रहेको मालपोत कार्यालयबाट सेवा पाउने उहाँको भनाई छ ।
आठबिसकोटका नागरिकका लागि जिल्लाबाट मङ्गलवार देखि सेवा दिन बन्द गरिएको उहाँले बताउनुभयो । आठबिसकोटमा मालपोत कार्यालय स्थापना भएको लामो समय भइसकेको छ । तर हालसम्म सेवा प्रवाह भने सुरु हुन सकेको छैन । अब भने मालपोत कार्यालय आठबिसकोटको सेवा सुरु हुने देखिएको छ ।