रुकुम पश्चिमको मुरु स्वास्थ्य चौकीमा निर्माणाधीन प्रसूति भवनको अनुगमन भएको छ । जिल्ला तथा पालिकाको टोलीले प्रसूति भवन निर्माण स्थल मुरु स्वास्थ्य चौकी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मुरुमा पुगेर भवनको अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक र त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी लगायतको टोलीले निर्माण कार्य चलिरहेको भवनको अनुगमन गरेको हो । त्रिवेणी गाउँपालिका र वान हर्ट वर्ल्ड वाइडको साझेदार संस्था रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजनाको साझेदारीमा प्रसूति भवन बन्न लागेको हो ।
कुल ३८ लाख ५८ हजार ९६ रुपैयाँ लागतमा भवन निर्माण भइरहेको वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल लागत मध्ये गाउँपालिकाको २० लाख र वान हर्टको १८ लाख ५८ हजार ९६ रुपैयाँ रहेको छ । कुल ५७ लाखको लागत स्टामेट रहे पनि टेन्डर मार्फत ३८ लाख ५८ हजार ९६ रुपैयाँमा मुरु कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले निर्माणकाे जिम्मा लिएको हो ।
वैशाख अन्तिम साता देखि सेवा सुचारु गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको उहाँको भनाई छ । अनुगमनका क्रममा निर्धारित समय अगावै काम सकिने देखिएको गिरीले बताउनुभयो । ‘सम्झौता अनुसार वैशाख अन्तिम साता देखि सेवा सुचारु गर्ने गरी निर्माण सक्ने भन्ने छ, तर अहिलेको निर्माण कार्य हेर्दा निर्धारित समय अगावै काम सकिने देखिएको छ,’ उहाँले भन्नुभयो ।
अनुगमन टोलीले पनि छिटो काम भएको देखिएको बताएको छ । जिल्ला समन्वय समिति प्रमुख देवबहादुर विकले निर्माणको अवस्था हेर्दा छिटो काम भइरहेको र यही रफ्तारमा काम भयो भने तोकिएको समय अगावै सकिने देखिएको बताउनुभयो । साथै उहाँले गुणस्तरमा ध्यान दिन निर्माण कम्पनी तथा कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले निर्माण कार्यमा निगरानी गरिरहेको बताउनुभयो । गाउँपालिका र परियोजनाका प्राविधिकले निरन्तर निर्माण कार्यमा निगरानी गरिरहेको र गुणस्तरमा कुनै पनि सम्झौता नहुने उहाँले बताउनुभयो । समयमै गुणस्तरीय कामका लागि गाउँपालिका गम्भीर रहेको उहाँको भनाई थियो ।
मुरु स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरका लागि भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्वास्थ्य चौकी प्रमुख सुशील बिष्टले बताउनुभयो । अहिले स्वास्थ्य चौकी रहेकै पुरानो र साँघुरो भवनबाट प्रसूति सेवा दिइरहेको उहाँको भनाई छ । अब नयाँ भवन निर्माण भएपछि भने सहज हुने उहाँको विश्वास छ । उहाँले स्वास्थ्य चौकीका लागि समेत नयाँ भवनको आवश्यकता रहेको बताउनुभयो । उहाँका अनुसार मुरु स्वास्थ्य चौकीमा वर्षमा एक सय जना भन्दा बढी महिला सुत्केरी हुने गरेका छन् । सल्यानको दार्मा गाउँपालिकाबाट समेत प्रसूति सेवाका लागि स्वास्थ्य चौकीमा आइरहेको स्वास्थ्य चौकी प्रमुख विष्टले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पोख्रेल, वडाध्यक्ष धनबहादुर खड्का, नेकपा माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेशबहादुर खड्का, प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, सशस्त्र प्रहरी निरीक्षक जालान्धर केसी, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, वान हर्टका जिल्ला संयोजक लोकमणि गिरी, नेपाल पत्रकार महासङ्घका सचिव हिरा परियार, त्रिवेणी गाउँपालिकाका स्वास्थ्य सह संयोजक वीरबहादुर डाँगी, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी अधिकृत नरेन्द्र ओली लगायतको उपस्थिति रहेको थियो ।