गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर भूकम्प गएको साढे एक महिना पुरा भएको छ । साढे एक महिना पुरा भए पनि रुकुम पश्चिमका केही भूकम्प पीडित अस्थायी आवासमा सरे पनि अधिकांश भूकम्प पीडित त्रिपालमै रात काट्न बाध्य छन् । जिल्लाभर हालसम्म २५ हजार लाभग्राही यकिन भएको र विवरण सङ्कलनको काम जारी रहेकाले लाभग्राहीको सङ्ख्या ३० हजार पुग्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।
जिल्ला विपत् व्यवस्थापन कोषबाट १९ हजार नौ सय ३४ लाभग्राहीलाई २५ हजारका दरले पहिलो किस्ता बापत ४९ करोड ८३ लाख ५० हजार रकम स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । तर पालिकामा गएको रकम सबै लाभग्राहीले पाउन सकेका छैनन् । हालसम्म ६ वटै स्थानीय तह आठबीसकोट, चौरजहारी र मुसिकोट नगरपालिका तथा त्रिवेणी बाँफिकोट र सानीभेरी गाउँपालिकामा गरेर १३ हजार तीन सय ८३ लाभग्राहीले मात्र पहिलो किस्ता प्राप्त गरेका छन् ।
भूकम्प गएको साढे एक महिना पुरा हुँदा पनि जिल्लाभर चार हजार तीन सय ४६ वटा मात्र अस्थायी आवास मात्र निर्माण भएका छन् । बाँकी भूकम्प प्रभावित पालमै रहेको स्थानीय तहहरूले दिएको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार पहिचान भएका लाभग्राहीको सङ्ख्या हेर्ने हो भने जिल्लामा अझै बिस हजार भन्दा बढी लाभग्राही त्रिपालमै रहेका छन् । हालसम्म आठबीसकोट नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास बनेका छन् भने तीन हजार ६ सय ९० निर्माणको चरणमा रहेका छन् । त्यहाँ नौ हजार नौ सय ६२ लाभग्राही यकिन भएका छन् ।
चौरजहारी नगरपालिकामा एक सय ४२ अस्थायी आवास निर्माण सम्पन्न हुँदा एक हजार सात सय ५४ वटा अस्थायी आवास निर्माण भइरहेका छन् । त्यहाँ आठ हजार तीन सय ८३ लाभग्राही यकिन भएको र अझै विवरण सङ्कलनको काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । त्रिवेणी गाउँपालिकामा दुई सय ४७ अस्थायी आवास निर्माण भएका छन् । दुई सय ६९ वटा अस्थायी आवास निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । त्यहाँ दुई हजार सात सय ४२ लाभग्राही यकिन भएका छन् ।
त्यस्तै सानीभेरी गाउँपालिकामा एक हजार ६ सय लाभग्राहीका अस्थायी आवास निर्माण भएका छन् । सानीभेरीमा पाँच हजार चार सय ३५ लाभग्राही यकिन भएको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो । बाँफिकोटमा गाउँपालिमा एक हजार सात सय ९३ लाभग्राही यकिन भएकामा एक सय १७ लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएको गाउँपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकामा नौ सय लाभग्राही यकिन भएकामा कति अस्थायी आवास निर्माण भए अझै तथ्याङ्क सङ्कलन भएको छैन ।
चिसोमा त्रिपालमै रात काट्दा बालबच्चाहरूलाई स्वास्थ्यमा विभिन्न समस्या देखिने गरेको आठबीसकोट १३ का हम्पाका लक्ष्मण शाहीले बताउनुभयो । पहिलो किस्ता बापतको रकम प्राप्त भए पनि जस्तापाता लगायत अन्य सामग्री जुटाउँदा समय लागेकोले अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको भूकम्प प्रभावितहरूको भनाई छ ।