परम्परागत कुनाखेत मेला यो वर्ष पौष ९ गते देखि लाग्ने भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा लाग्ने मेला यो वर्ष पौष ९ देखि १२ गतेसम्म लाग्ने भएको हो । मेलामा हरेक वर्ष खेलकुद प्रतियोगिता हुँदै आएका छन् । यस वर्ष पनि मेलामा खेलकुद प्रतियोगिता हुने भएका छन् । मेलाको अवसरमा वडा युवा तथा खेलकुद विकास समितिले शुद्ध वडा स्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
पुरुष भलिबल प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख ११ हजार रुपैयाँको साथमा कप, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले नगद ७५ हजार रुपैयाँको साथमा कप, मेडल, र प्रमाण पत्र हात पार्ने खेलकुद समितिले जानकारी दिएको छ । समितिका अनुसार सेमिफाइनलमा पुग्ने दुई टिमले समान २५/२५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।
त्यस्तै महिला भलिबल तर्फ विजेताले ३१ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र तथा उप विजेता टिमले नगद २० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाण पत्र पाउँदा सेमिफाइनलमा पुगेका दुई टिमले समान ७/७ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पार्ने छन् ।
मेलामा महिला, पुरुष ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ । ब्याडमिन्टन तर्फ महिला, पुरुषको पुरस्कार राशि समान रहेको छ । विजेता र उप विजेता जोडीले क्रमशः दश हजार र सात हजार रुपैयाँको साथमा मेडल , प्रमाण पत्र पाउने छन् भने सेमिफाइनलमा पुगेका दुई जोडीले दुई हजार पाँच सय रुपैयाँ पाउने खेलकुद समितिका अध्यक्ष रत्नबहादुर नाथले जानकारी दिनुभयो ।
मेलामा झाँकी सहित आउने सांस्कृतिक समूहलाई नगद सहित सम्मान गरिने मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।