रुकुम पूर्वलाई चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको सिस्ने गाउँपालिकालाई गत वर्ष नै पूर्ण खोप युक्त घोषणा गरिएको थियो । अव जिल्लाका दुई पालिका घोषणा हुन बाँकी छन् । भुमे र पुथाउत्तरगंगा गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरी जिल्लालाई नै घोषणा गर्ने तयारी सुरु भएको छ । भूमे र पुथाउत्तरगंगा पनि घोषणाको अन्तिम तयारीमा रहेको बताईएको छ ।
भूमे गाउँपालिकाका सबै बालबालिकाले पाउँनु पर्ने सबै खोपको मात्रा पाईरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले बताउनुभयो । पूर्ण खोप सुनिश्चित घोषणाका लागि गाउँपालिका योग्य रहेको उहाँको भनाई छ । पुथाउत्तरगंगा गाउँपालिकामा भने सर्वेक्षणको काम चलिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समिर गिरीले बताउनुभयो । बाँकी रहेका बालवालिकाहरुलाई पनि केहि दिनमा खोप दिनेगरी लागिपरेको जिल्ला स्थित सरोकारवालाहरुको भनाई छ ।
यूनिसेफको आर्थिक र प्राविधिक सहयोगमा केहि दिन अगाडि स्वास्थ्य कार्यालय रुकुम पूर्वले पूर्ण खोप घोषणाको लागि स्वास्थ्य संस्थाका प्रमुख तथा सरोकारवालाहरुसँग जिल्लास्तरीय तयारी बैठक बसालेको थियो । उक्त बैठकमा सहभागि जिल्लास्थित सरोकारवालाहरुले यसै आर्थिक वर्षको मसान्त भित्रै जिल्लाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सकिने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपाललाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने लक्षलाई सघाउ पुर्याउन रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी थालिएको हो । यो अभियानमा लुम्बिनी प्रदेश सरकार पनि लागि परेको छ । प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व, कपिलवस्तु र वर्दिया जिल्ला बाहेक अन्य ९ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् । बाँकी रहेका जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी तिव्र पारिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन दिवाकर महर्जनको भनाई छ ।