Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रमा खोप अभियान सुरु, रुकुम पश्चिममा एक लाख २४ हजारले खाेप पाउँदै
स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पाेख्रेलले जिल्लामा पहिलाे व्यक्तिकाे रुपमा टाइफाइड विरुद्धकाे खाेप लगाउँदै ।

भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट लगायतका जिल्लामा खोप अभियान सुरु भएको छ । भूकम्प प्रभावित क्षेत्रमा रोगले महामारीको रूप लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै दादुरा, रुबेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको हो । रुकुम पश्चिमका छ मध्ये तीन स्थानीय तहमा आजबाट खोप अभियान सुरु भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पोख्रेलले टाइफाइड रोग विरुद्धको खोप लगाएसँगै जिल्लामा खोप अभियान सुरु भएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

आज मुसिकोट नगरपालिका, आठबिसकाेट नगरपालिका र चाैरजहारी नगरपालिकामा खोप अभियान सुरु भएको खड्काले बताउनुभयो । उहाँका अनुसार सानीभेरी, त्रिवेणी र बाँफिकाेट गाउँपालिकामा पौष ८ गते देखि खोप अभियान सुरु हुने छ । खोप अभियान पौष १४ गतेसम्म सञ्चालन हुने छ । आजबाट सुरु भएको मध्ये आठबिसकाेटमा पौष १३, मुसिकाेटमा पौष १४ र चाैरजहारीमा पौष ११ गतेसम्म तथा पौष ८ गतेबाट सुरु हुने मध्ये बाँफिकाेट गाउँपालिकामा पौष १३ गतेसम्म, सानीभेरी गाउँपालिकामा पौष १४ गतेसम्म र त्रिवेणी गाउँपालिकामा पौष १३ गतेसम्म खोप अभियान चल्ने खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो ।

दादुरा, रुबेला खोप ६ महिना देखि १५ वर्ष मुनीका सबै बालबालिकालाई लगाइने छ भने १६ देखि ४५ वर्ष उमेरका सबैलाई टाइफाइड विरुद्धको टि.सी.भी. खोप दिइने उहाँको भनाई छ । गर्भवती, ६ महिना सम्मका सुत्केरी र सिकिस्त बिरामीहरूलाई खोप नलगाइने उहाँले बताउनुभयो । यो अभियानमा नियमित खोप लगाउन छुट भएका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकाहरूलाई छुट खोप पनि दिइने बताइएको छ । भूकम्प पछिको समयमा दादुरा तथा टाइफाइडको सङ्क्रमण नफैलियाेस भनेर अभियानकै रूपमा खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्लामा यो हालसम्मकै ठुलो खोप कार्यक्रम रहेको बताइएको छ । यो अभियानबाट जिल्लाका एक लाख २४ हजार एक सय १५ जनालाई खोप लगाउने लक्ष राखिएको छ । यो जिल्लाको कुल जनसङ्ख्याको ८० प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अभियानका लागि जिल्लामा तीन सय २० वटा खोप केन्द्र तोकिएको छ भने पाँच सय ४६ जना खोप लगाउने व्यक्ति र आठ सय ८५ जना स्वयंसेवक खटिँदै छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update