Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट २ वासीको पीडा: भान्सा र ओछ्यानमै पुग्छ डम्पिङ साइटको दुर्गन्ध
सतिपाेलेमा रहेकाे डम्पिङ साइटमा लागाे लगाउँदा निस्किएकाे विषाक्त हावा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ का स्थानीयलाई यति बेला बसिनसक्नु भएको छ । वडाको पुरुनडाँडा, सिमखोला, बारीपोले, सिस्नेखोला लगायत ठाउँका स्थानीय घर भित्रै पनि नाक थुनेर बस्नुपर्ने अवस्था छ । न राम्ररी सुत्न सकेका छन्, न राम्ररी खान नै । स्थानीयको दैनिकी नै प्रभावित बनेको छ भने स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । यसको कारण हो वडाको सतिपोलेमा रहेको डम्पिङ साइट । केही दिन देखि फोहोर जलाइएको छ । त्यहाँबाट निस्किएको विषाक्त धुवाँ सिधै भान्सा र ओछ्यानमै पुगिरहेको छ । विगत केही दिन देखि डम्पिङ साइटमा लगाइएको आगो निभेको छैन ।

यो केही दिनको समस्या होइन । केही दिन बिराएर फोहोर जलाउने गरिएको छ । स्थानीयले दुर्गन्धका कारण नियमित सास्ती भोग्न बाध्य छन् । सामान्य अवस्थामा फोहोरको दुर्गन्धले हैरान भएका स्थानीय फोहोरमा आगो लगाइदा भने गन्ध सँगै विषाक्त धुवाँका कारण समस्यामा छन् । स्थानीय तिलक खड्का मुसिकोट नगरपालिकाको चरम लापरबाहीका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । ‘नगरपालिकाले हाम्रो स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको छ, फोहोरका कारण वातावरणमा मात्र असर पुगेको छैन, मानवीय स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ, उहाँले भन्नुभयो–सयौँ प्रकारको फोहोर जल्दा निकै विषाक्त धुवाँ निस्किरहेको छ, यो सिधै भान्सा र ओछ्यानसम्म पुग्ने गरेको ।’

20231220_1723461703177712.jpg

फोहोर व्यवस्थापन चुनावी नारा बन्ने गरे पनि सत्तामा पुगेपछि सबैले बिर्सने गरेको वडावासीको गुनासो छ । नगरपालिकाले तत्कालै फोहोर व्यवस्थापनमा ध्यान नदिए चुप लागेर नबस्ने स्थानीयको चेतावनी छ । पटक पटक नगरपालिकाले आफूहरूलाई आश्वासन मात्र दिने गरेको तर आफूहरूको समस्यामा गम्भीर नभएको वडावासीको बुझाई छ । सुरु देखि नै नगरपालिकाले आफूहरूसँग छलछाम गरिरहेको वडावासीको आरोप छ । तत्कालीन नगरपालिका हुँदा देखि नै छलछाम भइरहेको वडावासीले बताउने गरेका छन् । सुरुमा जिप पार्किङ भनेर जग्गा दिएको तर आफूहरूलाई झुक्क्याएर डम्पिङ साइट बनाइएको जग्गादाताहरूको गुनासो छ ।

20231220_1722501703177720.jpg

स्थानीयले पटक पटक डम्पिङ साइट हटाउन माग गरिरहेका छन् । मुसिकोट नगरपालिकाले पनि पटक पटक हटाउने आश्वासन दिइरहेको छ । तर वर्षौँ सम्म फोहोर फाल्न छोडेको छैन ।

अहिले पनि मुसिकोट नगरपालिका फोहोर व्यवस्थापनको काम भइरहेको दाबी गर्छ । नगर प्रमुख महेन्द्र केसीले फोहोर व्यवस्थापनको दीर्घकालीन योजनाका साथ अघि बढेको दाबी गर्नुहुन्छ । ‘नगरपालिका फोहोर व्यवस्थापनका लागि गम्भीर बनेको छ, वडा नम्बर १ को नेपानेमा डम्पिङ साइट बन्दै छ, सतिपोलेमा अस्थायी रूपमा फोहोर व्यवस्थापनको काम भइरहेको छ, बेला बेलामा अपरिचित व्यक्तिले फोहोरमा आगो लगाउँदा समस्या भइरहेको छ, यसलाई पनि व्यवस्थापन गर्दै छौँ,’ उहाँले भन्नुभयो ।

आगो नलगाउने उहाँको भनाई छ । नगरपालिकाले फोहोर लिएर पुर्ने गरेको तर अपरिचित व्यक्रिले बेला बेलामा आगो लगाइदिँदा समस्या भइरहेको केसीले बताउनुभयो ।

20231220_1722361703177849.jpg

स्थायी रूपमा फोहोर व्यवस्थापनका लागि नेपानेमा संरचना निर्माणको काम चलिरहेको उहाँको भनाई छ । गत वर्ष ३२ लाख खर्च भएको र यो वर्ष ६० लाख बजेट रहेको उहाँले जानकारी गराउनुभयो । नेपानेमा यो वर्ष देखि फोहोर फाल्ने नगर प्रमुख केसीले दाबी गर्नुभयो । तर त्यहाँ पनि स्थानीयको अवरोध छ । छिमेकी बाँफिकोट गाउँपालिका समेत नगरपालिकाको यो कदम देखि सन्तुष्ट छैन । उसले कार्यपालिका बैठकबाटै यो ठाउँको बारेमा सोच्न भनिसकेको छ । तर नगर प्रमुख केसी पर्याप्त तयारी, अध्ययन र छलफल गरिएका कारण कुनै समस्या नरहेको बताउनुहुन्छ ।

मुसिकोटमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनेको छ । यसअघिको सरकारले पनि दिगो रूपमा फोहोर व्यवस्थापन गर्ने भने पनि केही गर्न सकेन ।   

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update