रुकुम पश्चिमको आठबिसकोट नगरवासीका लागि अब मालपोत र नापी सम्बन्धीका काम काजको लागि जिल्ला सदरमुकाम खलङ्गा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आठबीसकोट नगरपालिका ९ राडीमा आज देखि मालपोत र नापी कार्यालयको काम सञ्चालनमा आएसँगै अव आठबिसकोटवासीले यी सेवाका लागि जिल्ला सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यता हटेको हो ।
२०७८ चैत १७ गते नेपाल सरकारले आठबिसकोट नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसको झन्डै एक बर्सपछि २०७९ असोज ९ गते तत्कालीन कर्णाली प्रदेश सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री रातो कामीले मालपोत तथा नापी कार्यालयको उद्घाटन गर्नुभएको थियो । उद्घाटन भए पनि कर्मचारी अभावका कारण हालसम्म सेवा सञ्चालनमा आउन सकेको थिएन ।
जिल्ला मालपोत कार्यालयले पुस २ गते आठबीसकोट नगरपालिकाका सबै मोठ स्रेस्ताहरू र रोक्का डायरीहरू मालपोत कार्यालय आठबीसकोटलाई बुझाई बरबुझारथ गरेको थियो । त्यसको एक हप्तापछि अर्थात् आजबाट आठबीसकोट नगरपालिकाबाटै मालपोत कार्यालयको सेवा शुभारम्भ भएको हो । मालपोत र नापी कार्यालयको सेवा आजबाट शुभारम्भ गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आठबिसकोट नगरपालिका ९ का देउदत्ते बटाला र प्रेमबहादुर शाहीलाई सेवा दिएर सेवा शुभारम्भ गरिएको हो । यो सँगै मालपोत तथा नापी कार्यालयको कामको लागि नगरवासी जिल्ला सदरमुकाम धाउनु पर्ने समस्या अन्त्य भएको हाे । लामो समयको प्रयासपछि आफ्नै नगरपालिकाबाट नगरवासीले मालपोत र नापीको सेवा लिन पाउने अवसर प्राप्त गरेको उहाँले बताउनुभयो । अव नगरवासीलाई समयको बचत सँगै आर्थिक रूपमा पनि केही सहज हुने नगर प्रमुख केसीको विश्वास छ ।