माघ पहिलो साता देखि काठमाडौंमा हुन गइरहेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रादेशिक छनौट खेल्ने रुकुम पश्चिमको टोली घोषणा गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापु खेल मैदानमा पौष ६ र ७ गते सञ्चालन भएको छनोट कार्यक्रमबाट जिल्ला स्तरीय टिम निर्माण गरिएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।
ताराप्रसाद गिरी (विवश)को कप्तानीमा १४ सदस्यीय टिम निर्माण गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष दीपक बाँठा मगरले जानकारी दिनुभयो । छनोटमा सहभागी ४४ जना खेलाडीबाट १४ सदस्यीय टोली घोषणा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार टिमको अन्य सदस्यमा अर्जुन घर्ती, विजय पुन, कुनाल रावल, भुवन भण्डारी, राजेन्द्र शाही, छवि ओली, शंकर परियार, धनेश खड्का, युवराज शर्मा, युनिसबिक्रम सिंह, अनुज चनारा, नविन गौतम र सुगम पोख्रेल रहेका छन् ।
वैकल्पिकमा विराज शिर्पाली, रामकृष्ण परियार र धनबहादुर केसी रहदा टिम कोचमा कुलप्रसाद ओली र म्यानेजरमा नरबहादुर ओली रहेको अध्यक्ष बाँठा मगरले बताउनुभयो । यो टिमले सुर्खेतमा हुने कर्णाली प्रादेशिक छनोटमा सभागिता जनाउने उहाँको भनाई छ । त्यसमा राम्रो प्रदर्शन गर्न सके कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुन पाउने अवसर रहेको उहाँले बताउनुभयो ।