Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा अन्य महिनाको तुलनामा फागुन र चैत्रमा चार गुणा बढी राजश्व संकलन 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले पछिल्लो २ महिनामा झण्डै ५६ लाख राजश्व संकलन गरेको छ । नगरपालिकाले विभिन्न शिर्षकमा २ महिनामा मात्र ५५ लाख ७० हजार १ सय १ रुपैंया संकलन गरेको हो । फागुन र चैत्र महिनामा ब्यबसाय दर्ता तथा नबिकरण, सम्पत्ति कर, मालपोत कर, प्रशासनिक सेवा शुल्क, नक्शा पास तथा ब्यक्तिगत घटना दर्ता शुल्क लगायतका सेवा वापत उक्त राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ । 

यो अवधिमा सबैभन्दा बढी राजश्व मालपोत करबाट उठेको छ । नगरपालिकाको राजश्व शाखाले मालपोत करबाट ३९ लाख २४ हजार ६ सय ९२ रुपैया राजश्व संकलन गरेको नगरपालिकाको भनाई छ । त्यस्तै ब्यबसाय दर्ता तथा नबिकरणबाट १ लाख ५५ हजार, सम्पत्ति कर ४ लाख ३९ हजार १ सय ९२ र घरबहाल कर १ लाख ६२ हजार ४ सय १४ रुपैया संकलन भएको छ । 

त्यसैगरि प्रशासनिक सेवा शुल्क तथा दण्ड जरिवानाबाट ५ लाख ७२ हजार ३, नक्शापास दस्तुरबाट १ लाख ७७ हजार, सिफारिस दस्तुर ६ हजार ३ सय, ब्यत्तिगत घटना दर्ता शुल्क ८ हजार १ सय, प्रदुषणि नियन्त्रणबाट ८९ हजार ९ सय ५० रुपैयाँ, न्यायिक दस्तुर १ हजार ३ सय तथा अन्य सेवा शुल्कबाट ३७ हजार २ सय रुपैयाँ राजश्व उठेको छ ।

अन्य महिनाहरुको तुलनामा फागुन र चैत्रमा ४ गुणा बढि राजश्व संकलनमा बृद्धि भएको नगरपालिका राजश्व शाखाका प्रमुख प्रेमबहादुर खड्काले बताउनु भयो । नगरपालिकाले नक्सा पासलाई अनिवार्य बनाएपछि घरधनीहरु नक्सापास गर्न आउनु, व्यवसायीहरुले सरकारी कारोबारका लागि व्यवसाय नबिकरण गर्नु, मालपोत कर प्राप्त हुनु र नगरपालिकाले राजश्व असुलिका लागि थप सक्रियता बढाएकोले राजश्व संकलनमा वृद्धि भएको उहाँको भनाई छ ।

नगरपालिकाले यो वर्ष डेढ करोड राजश्व संकलन गर्ने लक्ष लिएको छ । यो वर्ष लक्ष पुरा हुने नगरपालिकाको दाबि छ । नगरपालिकाले अहिलेसम्म राजश्वको लक्ष पुरा गर्न सकेको छैन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update