Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु 
शिल्डमा सहभागी विद्यार्थीहरु ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दहवाङमा हिजाेबाट रनिङ शिल्ड सुरु भएको हो । शिल्ड पुस ११ गतेसम्म सञ्चालन हुने त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेश पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो राष्ट्रपति रनिङ शिल्डमा पालिका भित्रका १८ वटा आधारभूत विद्यालय र ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

शिल्डमा आधारभूत तर्फ एक सय मिटर दौड सञ्चालन हुने छ भने मावि तर्फ छात्र, छात्रा भलिबल, दौड तर्फ एक सय मिटर, दुई सय मिटर र एक हजार पाँच सय मिटर दाैड तथा रिले दौड, सञ्चालन हुने छन् । त्यस्तै छात्र, छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट प्रतियोगिता सञ्चालन हुने शिक्षा शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको शिल्ड उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै भूमि आयोगका जिल्ला अध्यक्ष मीनबहादुर ओली र गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको विशेष आतिथ्यता रहको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, गाउँपालिका पूर्व उपाध्यक्ष निर्मला खड्का विष्ट, शिल्डमा सहभागिता जनाएका विद्यालयका प्रधानाध्यापक लगायतको पनि आतिथ्यथा रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कुबेर ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update