गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति गरेको रुकुम पश्चिममा नेपाली काँग्रेसले चार सय १२ अस्थायी आवास निर्माण गरेको छ । जिल्लाका छ वटै स्थानीय तहमा हालसम्म पार्टीले चार सय १२ अस्थायी आवास निर्माण गरेको जनाएको छ। केन्द्रीय कार्यसमितिको निर्णय अनुसार जिल्लामा एक हजार अस्थायी आवास निर्माण गर्ने घोषणा बमोजिम अस्थायी आवास निर्माणको काम जारी रहेको नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म पार्टीले सबै भन्दा बढी एक सय १५ वटा अस्थायी आवास आठबिसकोट नगरपालिकामा निर्माण गरेको छ । त्यस्तै चौरजहारी नगरपालिकामा ९७, मुसिकोट नगरपालिकामा ५०, त्रिवेणी गाउँपालिकामा २५, बाँफिकोट गाउँपालिकामा २० र सानीभेरी गाउँपालिकामा एक सय सात अस्थायी आवास गरेर हालसम्म जिल्लामा चार सय १२ अस्थायी आवास निर्माण सम्पन्न गरेको जिल्ला सभापति ओलीले जानकारी दिनुभयो ।
जसमध्ये नेपाली काँग्रेस आफैले जस्तापाता खरिद गरेर भूकम्प पीडितका ९५ वटा अस्थायी आवास निर्माण गरिदिएको जनाएको छ । बाँकी तीन सय १७ वटा अस्थायी आवासको मिस्त्री ज्याला दिएर नेपाली काँग्रेस रुकुम पश्चिमको संयोजनमा अस्थायी आवास निर्माण गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । एक सय वटा अस्थायी आवास भने निर्माणको चरणमा रहको बताइएको छ ।