Kakhara सबैको खबर सम्पूर्ण खबर
अस्थायी आवास निर्माणका लागि रुकुम पश्चिममा थप ३४ करोड आयो 
भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिएकाे अस्थायी आवास ।

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न रुकुम पश्चिममा थप ३४ करोड बजेट आएको छ । यसअघि आएको ५० करोड बजेटले नपुगेपछि जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले थप बजेटको माग गरेको थियो । जसअनुसार सङ्घीय सरकारबाट थप ३४ करोड बजेट आएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै जिल्लामा अस्थायी आवास निर्माणका लागि ८४ करोड बजेट आएको छ । अब दोस्रो किस्ताका लागि ६८ करोड बजेट माग गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो पटक आएको ३४ करोडबाट पहिलो किस्ता वितरण गरेर दोस्रो किस्ताका लागि बच्ने र दोस्रो किस्ताका लागि थप ६८ करोड बजेट आवश्यक पर्ने देखिएकोले उक्त बजेट माग गरेर पठाइएको बढुवालले बताउनुभयो । यसका आधारमा जिल्लामा अस्थायी आवास निर्माणका लागि एक अर्ब ५२ करोड खर्च हुने भएको छ । नयाँ आएको रकम समेत पहिलो किस्ता बापत वितरण सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाबाट ५९ करोड दुई लाख बजेट स्थानीय तहमा गएको छ । त्यसमध्ये स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट ४० करोड ८० लाख ७५ हजार रुपैयाँ लाभग्राहीको खातामा गइसकेको तथ्याङ्क छ । जिल्लाबाट २३ हजार ६ सय आठ जना लाभग्राहीका लागि स्थानीय तहमा बजेट गए पनि स्थानीय तहबाट भने शुक्रवार साँझसम्म १६ हजार तीन सय २३ लाभग्राहीको खातामा पहिलो किस्ता गएको छ । बाँकी लाभग्राहीको सङ्ख्या यकिन भएर आउन बाँकी रहेको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ । 

WhatsApp Image 2023-12-25 at 16.09.52_3822218a1703501829.jpg
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रकम निकासा र अस्थायी आवास निर्माणकाे अवस्था ।

यसैबिच जिल्लाभरमा हालसम्म चार हजार नौ सय ५० वटा मात्र अस्थायी आवास निर्माण गरेको रेकर्ड छ । अहिलेसम्म २६ हजार तीन सय ६३ वटा अस्थायी आवास निर्माण गर्नुपर्ने गरी प्रहरी मुचुल्का तयार भए पनि निकै कम मात्र अस्थायी आवास निर्माण भएको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । साथै जिल्ला भरमा नौ हजार ६ सय ६४ वटा अस्थायी आवास निर्माणको चरणमा रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार आठबिसकोट नगरपालिकामा दुई हजार आठ सय १३ आवास निर्माण हुँदा तीन हजार ६ सय निर्माणाधीन, सानीभेरी गाउँपालिकामा एक हजार पाँच सय अस्थायी आवास निर्माण हुँदा तीन हजार सात सय ४३ वटा निर्माणाधीन र चौरजहारी नगरपालिकामा एक सय ७१ वटा अस्थायी आवास निर्माण सकिदा एक हजार सात सय ८० वटा निर्माणाधीन अवस्थामा रहेका छन् ।

त्रिवेणी गाउँपालिकामा तीन सय २५ वटा आवास बन्दा चार सय तीन वटा बन्दै गरेको, बाँफिकोटमा एक सय १७ वटा आवास बन्दा ४० वटा बन्दै गरेको र मुसिकोट नगरपालिकामा २४ वटा अस्थायी आवास बन्दा ४८ वटा अस्थायी आवास बनिरहेको तथ्याङ्कमा उल्लेख छ ।

गत कार्तिक १७ गते गएको भूकम्पले रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको छ भने करिब ३० हजार घर बस्नै नमिल्ने गरी भत्किएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update