Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडक्रसले रुकुम पश्चिममा दुई सय ५० अस्थायी आवास बनाउँदै 
अस्थायी आवास निर्माण गरिदैँ ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले जिल्लामा दुई सय ५० वटा अस्थायी आवास निर्माण गरिरहेको छ । भूकम्प प्रभावित जिल्लाका दुई वटा स्थानीय तहमा अस्थायी आवास निर्माणको काम जारी रहेको रेडक्रसले जनाएको छ । 

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ र त्रिवेणी गाउँपालिकाका ९ र १० नम्बर वडामा दुई सय ५० वटा अस्थायी आवास निर्माण भइरहेको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कार्यक्रम संयोजक सरोज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी ४ मा एक सय ५०, त्रिवेणी ९ र १० मा ५०/५० वटा घर बन्नेछन् । 

लाभग्राहीसँग सम्झौता भई निर्माणको काम भइरहेको उहाँको भनाई छ । रेडक्रसले अस्थायी आवासका लागि प्रति परिवार ५० हजार, अस्थायी शौचालयका लागि १५ हजार, खानेपानीका लागि सात हजार र बहुउद्देश्यीय नगद १५ हजार गरी ८७ हजार दिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । 

स्थानीय तहसँगको छलफलबाट लाभग्राही छनोट गरिएको उहाँले बताउनुभयो । साथै रेडक्रसले अस्थायी आवासका लागि छनोट भएका लाभग्राही सहित सानीभेरी र त्रिवेणीमा गरी एक हजार चार सय २७ परिवारलाई तत्कालीन परिपूरणका लागि बहुउद्देश्यीय नगद १५ हजार वितरण गर्ने जनाएको छ । 

सुत्केरी, गर्भवती, अभिभावक गुमाएका बालबालिका र ज्येष्ठ नागरिकलाई तत्कालीन व्यवस्थापनका लागि नगद सहयोग गर्न लागिएको कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update