रुकुम पश्चिमले पहिलो पटक नेपाल ब्याडमिन्टन सङ्घको आधिकारिक जिल्लाको मान्यता पाएको छ । २०७५ सालमै स्थापना भएर काम गर्दै आए पनि रुकुम पश्चिमले आधिकारिकता पाउन सकेको थिएन । स्थापना भएको पाँच वर्षपछि जिल्लाले मान्यता पाउन सफल भएको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश ब्याडमिन्टन सङ्घको प्रथम अधिवेशनबाट रुकुम पश्चिमले नेपाल ब्याडमिन्टन सङ्घको आधिकारिक जिल्ला भएको प्रमाण पत्र पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार रुकुम पश्चिमले देशको ५२ औँ जिल्लाका रूपमा मान्यता पाएको हो । रुकुम पश्चिमले अहिलेसम्म तदर्थ समितिका रूपमा काम गरिरहेको थियो ।
यसैबिच जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा कर्णाली ब्याडमिन्टन सङ्घको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।