रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यक्रम जारी छ । नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वय तथा कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सहयोगमा नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । यो कार्यक्रम ४ दिनसम्म संचालन हुने छ ।
कार्यक्रमको वडा नं. ५ शेरीगाउँमा स्थित शहिद प्रतिष्ठानको सभाहलमा नगर प्रमुख देबीलाल गौतमले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, १४ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्का र स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यक्रमका सहजकर्ता प्रेमबहादुर ओलीले गरिरहनुभएको छ ।