Kakhara सबैको खबर सम्पूर्ण खबर
२५ वर्षदेखि आरनमा सङ्घर्ष गरिरहेका शशिराम: आरनबाटै घर खर्च देखि घर निर्माणसम्म 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ खर्चिवाङका शशिराम विश्वकर्मा उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँको दैनिकी फलामसँगै खेलेर बित्ने गरेको छ । बिहान उठे देखि साँझसम्म आरनमै काम गर्दा  समय बितेको पत्तै हुँदैन । जब सिजन सुरु हुन्छ त्यति बेला झन् कामको चाप हुने गरेको विश्वकर्मा सुनाउनुहुन्छ ।

“सिजन सुरु हुने भनेको गहुँ, जौ काट्ने बेला र मकै काट्ने समयमा आरनमा कामको निकै चाप पर्छ, त्यो समयमा एक्लै काम नभ्याइने भएकाले ज्याला दिएर काम गर्ने मान्छे राख्ने गरेको छु । अन्य समयमा भने मैले एक्लै काम गर्ने गरेको छु । त्यति चाप पर्दैन’’  विश्वकर्माले भन्नुभयो । उहाँ विगत २५ वर्षदेखि निरन्तर आरन पेसामा आबद्ध हुनुहुन्छ । 

‘‘२२ वर्षको उमेर देखि नै आरन पेसा सुरु गरेको हुँ, अहिले २५ वर्ष भयो निरन्तर यही पेसामा लागिरहेको छु । यो पेसा छोडेर देश बाहिर जान सकेन जति बाँच्छु यही पेसामै दुख गर्छु’’ विश्वकर्माले भन्नुहुन्छ । विश्वकर्माले कुटो, कोदालो, हँसिया, खुकुरी लगायतका सामग्री निर्माण गर्ने गरेको सुनाउनुभयो । ‘‘फलामबाट निर्माण गरिएका सामग्री हेरेर फरक फरक मूल्यमा विक्री गर्ने गरेको छु, सामग्री बनाउने व्यक्तिहरूले आफै फलाम ल्याउनुभयो भने पनि सामग्री हेरेर फरक फरक ज्याला लिने गरेको छु, उहाँले भन्नुभयो-गाउँका करिब ४० घरपरिवार भन्दा बढी मेरो आरनमा कुटो, कोदालो, हँसिया, खुकुरी, बन्चरो लगायतका सामग्री निर्माण गर्न आउनुहुन्छ ।’’ 

सामग्री बनाएको पारिश्रमिक कति ?
शशिरामले  फलामबाट  निर्माण गरेका सामग्रीहरूको फरक फरक ज्याला  लिनुहुन्छ । त्यस्तै फलामबाट निर्माण गरिएका सामग्रीहरूको रेत लगाउने (धारिलो बनाउने) गरेको पनि सामान हेरेर हँसियाको ७० रुपैयाँ देखि एक सय ५० सम्म र खुकुरीको दुई सय ५०, ठुलो बन्चरोको सात सयसम्म ज्याला (पारिश्रमिक) लिनुहुन्छ । ‘‘सामग्री बनाउने व्यक्तिले आफै फलाम लिएर एउटा हँसिया बनाउनुभयो भने साढे तीन सय देखि चार सयसम्म रुपैयाँ लिने गरेको छु, फलाम मेरो प्रयोग भयो भने त्यसमा एक सय देखि दुई सयसम्म बढी रुपैयाँ पर्छ’ विश्वकर्माले भन्नुभयो । 

घर घरै गएर बिक्री 
केही व्यक्ति हँसिया, कुटो, कोदालो, खुकुरी, बन्चरो लगायतका सामग्री लिन आरनमै आए पनि धेरै सामग्री बिक्री गर्नको लागि गाउँ गाउँमै जाने गरेको विश्वकर्माले बताउनुभयो । ‘‘सामग्री निर्माण गरिसकेपछि आरनमा धेरै भयो भने गाउँ गाउँ जाने गरेको छु, बजारमा सस्तो मूल्यमा राख्न खोज्छन्, त्यसैले पनि गहुँ, मकै काट्ने सिजनको सयमा घरघरै सामग्री पुर्‍याएर बिक्री गर्ने गरेको छु ।’’ उहाँले भन्नुभयो । खर्चिवाङ, बेतखोला, गैरिनेटा, बादरपानी, भलाक्चा सहित रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकासम्म सामग्री बोकेर बिक्री गर्ने गरेको उहाँले सुनाउनुभयो । 

पहिले खलोमा अहिले ज्यालामा 
२०५५ साल देखि आरन पेसा सुरु गर्नुभएका विश्वकर्माले एक दशक भन्दा बढी समय खलोमा काम गरेको सुनाउनुभयो । ‘‘काम सुरु गरेको लामो समयसम्म खलोमा काम गरे, उति वेला  खलोको चलन थियो, ज्याला भन्ने कमै हुन्थ्यो, बाली उत्पादन हुने समय अर्थात् ६ महिनाको अवधिमा जति सामग्री बनाए पनि ज्याला बापत सात आठ पाथी अन्न ल्याउँथे, खलोमा दुःख बढी पैसा कम हुने भएकोले खलोमा काम गर्न छोडे अहिले सबैले सामान बनाउनुपर्‍यो भने ज्याला तिरेरै बनाउनु हुन्छ । यसबाट हामीलाई आर्थिक रूपमा पनि सहज भएको छ । दुःख अनुसारको कमाई हुँदा सन्तुष्टि छौँ ।’’

आरनबाटै घर खर्च देखि घर निर्माणसम्म 
विश्वकर्माको परिवार आरनबाटै चल्छ । उहाँले घर खर्च मात्रै जोहो गर्नुभएको छैन,  १ छोरा,  ३ छोरीलाई पढाउने देखि आफू बस्ने घरसमेत आरनबाटै निर्माण गर्नुभएको छ । ‘‘म अहिलेसम्म देश बाहिर कमाइको लागि गएको छैन, जति कमाई गरे यही आरनबाटै हो । छोरा छोरीहरूलाई पढाउन् लेखाउन समेत आरन मेरो लागि आर्थिक स्रोतको सारथि बनेको छ । परिवार घरकै काममा व्यस्त हुने भएकाले एक्लै आरन चलाएको छु । छोरासँग सिप भए पनि यो यो पेसामा आबद्ध छैन । अरू नै काम गर्ने गरेको छ ’’ उहाँले भन्नुभयो । 

आम्दानी कति ?
आरनबाट आम्दानी पनि राम्रै हुने गरेको विश्वकर्मा बताउनुहुन्छ । यो पेसा छोडेर अन्त जानुपरेको छैन । दुःख अनुसार कमाई राम्रै छ । मासिक १५ देखि १८ हजार आम्दानी हुन्छ । वार्षिक डेढ लाख भन्दा बढी कमाई हुने गरेको उहाँले सुनाउनुभयो । अहिलेसम्म कुनै अनुदानका कार्यक्रम नपाएको गुनासो भने विश्वकर्माको छ । अनुदानका कार्यक्रम पाएमा व्यावसायिक रूपमा आरन सञ्चालन गर्ने उहाँको योजना छ । आरनमा फलाम काट्ने मेसिन, खोल्ने मेसिन, पङ्खा लगायतका सामग्री आवश्यक रहेको उहाँले बताउनुभयो । 

आरन पेसालाई व्यवस्थित गर्न कुनै योजना छैन  
आरन पेसा सञ्चालन गरिरहेका व्यक्तिहरूलाई वडा कार्यालयले कुनै अनुदानको कार्यक्रम नरहेको जनाएको छ । वडामा आठ घरधुरीले आरन पेसा जोगाई राखे पनि यो व्यवसायलाई व्यवस्थित बनाउन वडाबाट कुनै कार्यक्रम गर्न नसकेको वडा अध्यक्ष गोविन्द बुढाले जानकारी दिनुभयो । ‘‘आफ्नो तरिकाले आरन पेसा चलाई राख्नुभएको छ । त्यसलाई थप व्यवस्थित बनाउन यो आर्थिक वर्ष कुनै बजेट छैन । आउँदो वर्ष आरन पेसालाई थप व्यवस्थित बनाउन वडाको तर्फबाट पहल गर्ने छौँ’’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update