एक महिलाको हत्या आरोप लागेका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष सहित तीन जनाले सफाइ पाएका छन् । वडाध्यक्ष कुमार सिंह र तत्कालीन वडाध्यक्ष जयकुमार बुढा सहित तीन जना पुथाउत्तरगंगा गाउँपालिका ११ की डुठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पक्राउ परी कारागार चलान भएका थिए ।
रुकुमकोट जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको बुधवारको एकल इजलासले तत्कालीन वडाध्यक्ष बुढा, २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष सिंह र स्थानीय अर्जुन बुढालाई सफाइ दिएको अदालतका श्रेष्तेदार भुपाल भण्डारीले जानकारी दिनभयो । सिंह प्रहरी हिरासतमा रहेकै बेला वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएका सिंहले ४ सय ६१ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका लक्ष्मण बुढामगरले ४ सय ३ मत पाउनुभएको थियो । वडाध्यक्ष निर्वाचित भए पनि सिंहले शपथ ग्रहण र कार्यभार सम्हाल्न बाँकी छ ।
त्यस्तै यो मुद्दामा दुई जना भने फरार रहेका छन् । उनीहरूको मुद्दा मुल्तबी गरिएको श्रेष्तेदार भण्डारीले जानकारी दिनुभयो । उनीहरूको हकमा पक्राउ परेपछि मुद्दा अघि बढ्ने श्रेष्तेदार भण्डारीको भनाई छ । २०७९ वैशाख १९ गते चुनावी झडप भएको थियो । झडपमा परी केही घाइते भएका थिए । घटनापछि सम्पर्क विहीन भएकी जुनमायाको वैशाख २६ गते साेही वडाकै सेराकाे जंगलमा शव फेला परेको थियो ।