Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व युवराज पारस शाहद्वारा भूकम्प पीडितलाई राहत प्रदान 

पूर्व युवराज पारस शाहले भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउनुभएको छ । बुधवार रुकुम पश्चिममा पुगेर जिल्लाका भूकम्प प्रभावितका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले जिल्लाका आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितलाई राहत उपलब्ध गराएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य केशवचन्द्र समालले जानकारी दिनुभयो । 

उहाँका अनुसार सानीभेरी गाउँपालिकालाई पाँच सय थान ब्लाङकेट, बालबालिकाका लागि एक सय ५० थान ज्याकेट र दुई सय कार्टुन पौष्टिक आहार हस्तान्तरण गरिएको छ । यी सामग्री शाही परिवार नातेदार आदर्शविक्रम राणा जबराले गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टलाई हस्तान्तरण गर्नुभएको हो । 

त्यस्तै आठबिसकोट नगरपालिकालाई सानो ब्लाङकेट ६ सय ५० थान, ज्याकेट चार सय ५० थान र पौष्टिक आहार तीन सय १८ कार्टुन उपलब्ध गराइएको केन्द्रीय सदस्य समालले बताउनुभयो । आठबिसकोट नगरपालिका प्रमुख रवि केसीलाई शाही नातेदार हिमान शाहीले उक्त सामग्री हस्तान्तरण गरेको बताइएको छ । आठबिसकाेटमा राहत वितरणकाे जिम्मा केन्द्रीय सदस्य समाललाई दिइएकाे थियाे । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update