Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक छेउका सामग्री हटाउन चौरजहारी नगरपालिकाको एक हप्ते अल्टिमेटम 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगरपालिका अन्तर्गतका सडक छेउछाउका सामग्री हटाउन एक हप्ताको समय दिएको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै सात दिनभित्र सडक छेउछाउका सामग्री हटाउन भनेको हो । सडक छेउछाउमा रोकेर राखेका सवारी साधन, जग्गा तथा घडेरी खारी सडकमा थुपारेको माटो, निर्माण सामग्रीहरू बालुवा, ढुङ्गा, गिट्टी आदि हटाउन भनिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

त्यस्तै सडक छेउछाउमा खानेपानी पाइप चुहावट नगर्न, ग्यारेज सञ्चालन गरी मोबिल लगायतका रसायनहरू पोखेकाले सडक छेउछाउमा यसो नगर्न पनि सूचनामा उल्लेख गरिएको छ । सडक छेउछाउमा राखिएका सामग्रीका कारण पैदल यात्री र सवारी साधन आवागमनमा अवरोध सृजना भएकोले हटाउन अल्टिमेटम दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “स्थानीय सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को परिच्छेद ३ को दफा (९)” बमोजिम उक्त सामग्रीहरू एक हप्ता भित्र नहटाएमा नगरपालिकाबाट नियम अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update