Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई वर्षपछि परिवारले स्वीकारेको एक ‘अन्तरजातीय’ प्रेम जोडी
अन्तरजातीय विवाह गरेका कलव वस्नेत र एलिना परियार ।

सल्यान बागचौर नगरपालिका ५ सिर्पटोलका २४ वर्षीय कलव बस्नेत व्यवसाय सञ्चालनका लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु झर्नुभयो । सिम्रुतु झरेका बस्नेतले हेयर कटिङ (कपाल काट्ने) व्यवसाय सुरु गर्नुभयो । यही क्रममै सिम्रुतु मै रहेको त्रिवेणी माविमा कृषि प्राविधिक विषयमा अध्ययनरत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बारिया टोलकी एलिना परियारसँग चिनजान भयो ।

यो चिनजान चिनजानमा मात्र सीमित भएन प्रेम सम्बन्धमा रूपान्तरण भयो । तीन वर्ष प्रेम सम्बन्धमा रहेका उहाँहरू बिचमा विवाहको कुरा चल्यो । २०७८ मङ्सिर ३ गते मुसिकोट नगरपालिका ५ थर्पुमा लाग्ने डिग्रे मेलाबाट दुवै जनाको सहमतिमा कलवले एलिनालाई विवाह गरेर लिनुभयो । विवाह त भयो तर घरपरिवारलाई भने चित्त बुझेन । घरपरिवारले स्वीकार गर्न नसकेपछि उहाँहरूको संस्कार अनुसार विवाह हुन पाएन । घर परिवारको इच्छा विपरीत जान नचाहँदा दुवै जना सँगै बस्दै आए पनि दुई वर्षसम्म धार्मिक संस्कार अनुसार औपचारिक विवाह गर्न नपाएको कलवले बताउनुभयो ।

दुई वर्षसम्म घरपरिवारसँग एक्लिएर दुई जना छुट्टै बस्नु परेको उहाँ बताउनुहुन्छ । दलितसँग विवाह गरेको भन्दै कलवले धेरै हेपिनु पर्‍यो । घरपरिवार तथा आफन्तको नजरमा तारो बने सबैले दलितको छोरीलाई लिएर इज्जत फाल्यो, गाउँ समाजको बेइज्जत भयो भन्दै गाली गरे । ‘घर परिवार र समाजले नराम्रो सोचे, नाना थरी कुरा गरे, दुई वर्षसम्म त हाम्रो घरपरिवारले समेत हाम्रो जोडीलाई स्वीकार गरेन, समाजको त झन् के कुरा गर्नु, कलवले भन्नुभयो ।’

तर प्रतीक्षाको फल मिठो हुन्छ भने भनाई कलव र एलिनाको जीवनमा लागु भएको छ । दुई वर्षसम्म सबै तिरबाट तिरस्कारमा परेको यो जोडीलाई अहिले परिवारले स्वीकार गरेको छ । परिवार र आफन्तको सहमतिमा गत मङ्सिर २३ गते धूमधामका साथ हिन्दु परम्परा अनुसार विवाह भयो भने घरमा भित्र्याइयो । 

जातीय कारणले विभिन्न ठाउँमा घटेका घटनाहरूले माइती परिवारलाई चिन्ता थियो कतै छोरीलाई केही हुन्छ कि भन्ने । यही चिन्ताले होला एलिनाका माइती अंश दिएर छोरी ज्वाइँलाई माइतीमै राख्ने सोचमा थिए । अब घरपरिवारले स्वीकार गरेपछि भने माइती पक्षको चिन्ता र डर पनि हटेको छ । 

समाजलाई बुझाउन राजनीतिक दलको सक्रियता 
दुई वर्षको अवधिमा घरपरिवार तथा समाजलाई बुझाउन राजनीतिक दलले भूमिका खेले । रुकुम पश्चिम र सल्यानका राजनीतिक दलको सक्रियताले गाउँ समाज तथा घरपरिवारले अन्तरजातीय विवाह स्विकार्न महत्त्वपूर्ण भूमिका खेलेको बस्नेतको बुझाई छ । यो बिचमा रुकुम पश्चिम र सल्यानबाट नेकपा माओवादी केन्द्रले निकै राम्रो साथ दिएको उहाँले सुनाउनुभयो । ‘जातकै कारण घरपरिवार र समाजबाट हाम्रो जोडीलाई स्वीकार गरिएको थिएन, दुवै जिल्लाका राजनीतिक नेतृत्वले यसमा सहजीकरण गरेपछि अहिले घरपरिवार तथा समाजबाट समस्या छैन, माइती पक्षबाट त सुरु बाटै समस्या थिएन’ उहाँले भन्नुभयो । 

उदाहरणीय जोडी 
समाजमा जातकै कारण हुने गरेको विभेदका विरुद्ध यो जोडी उदाहरणीय बनेको छ । समाजमा व्याप्त कुरीतिका विरुद्ध आफूहरूले पाइला चालेको यो जोडी बताउँछ । ‘सुरु सुरुमा गाउँ समाजबाट पनि हेपिनुपर्‍यो, यसमा मलाई कुनै समस्या थिएन, गाउँ समाजले जे भने पनि स्वीकार गर्ने र आफूबाटै जातमा देखिएको विभेद अन्त्य गर्न मलै यो आट गरेको हुँ, सबै भन्दा ठुलो मन हो मन मिलेपछि सबै कुरा सहायक हो, यो हाम्रो सदिऔं देखि समाजमा रहेको कुरीति विरुद्धको प्रतिकार हो ।’ उहाँले भन्नुभयो ।

सुरुमा विभेद गर्नेहरूले नै अहिले हौसला प्रदान गर्ने गरेको उहाँको भनाई छ । बस्नेत अहिले पनि कपाल काट्ने पेसामै हुनुहुन्छ भने एलिना पढाई सकेर त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मा रहेको जनप्रिय मावि पेउघामा कृषि प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्छ । 

जोडीलाई सम्मान 
मङ्सिर २३ गते विवाह बन्धनमा बाँधिएको जोडीलाई सम्मान तथा शुभकामना दिन वडा कार्यालयले कार्यक्रम गरेको छ । घरबाट माइतीमा आएको अवसर पारेर त्रिवेणी गाउँपालिका वडा नम्बर ६ ले सम्मान गर्न एलिनाको माइती घरमा सम्मान कार्यक्रम राख्यो । राजनीतिक दल, समाजसेवी लगायतले बधाई तथा शुभकामना दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update