रुकुम पश्चिमको चौरजहारीमा आयोजित वृहत दोस्रो साँस्कृतिक महोत्सव स्थगित भएको छ । बढ्दो कोरोना भाईरसको संक्रमणका कारण आजबाट महोत्सव स्थगित गरिएको हो । गत चैत्र २६ गतेबाट सुरु भएको महोत्सव ८ औं दिनमा स्थगित भएको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार महोत्सव बैशाख ५ गतेसम्म संचालन हुनु पर्ने थियो । तर दिन प्रति दिन कोरोना भाईरसका संक्रमितहरु थपिदै गएपछि जोखिमलाई ध्यानमा राखेर महोत्सव स्थगित गरिएको महोत्सवका साँस्कृतिक संयोजक एल.वि. कटुवालले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम थप बढ्न सक्ने तर्फ सचेत रहदै महोत्सव स्थगित गर्ने निर्णय भएको उहाँको भनाई छ । चौरजहारी उद्योग वाणिज्य संघ र चौरजहारी नगर संगित समितिले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् । महोत्सवमा पूर्णकला विसी, भुमिका गिरी, बद्री पंगेनि, यश कुमार, मिस्टर आर.जे. लगायतका कलाकारहरुले प्रस्तुति राखेको आयोजकले जनाएको छ । महोत्सवमा आशा गरिए अनुसार दर्शकहरु समेत नआएको आयोजकको भनाई छ ।
करिब १०, ११ हजार जति दर्शकले मात्र महोत्सव अवलोकण गरेको आयोजकको अनुमान छ । कोरोनाका डरले महोत्सवमा दर्शकहरुको उत्साह जनक उपस्थिति हुन नसकेको अनुमान गरिएको छ । यो महोत्सव गत वर्ष नै आयोजना गरिएपनि कोरोना भाईरसकै कारण स्थगित भएको थियो । गत वर्षको चैत्र १२ गते देखि महोत्सव उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी गरिएपनि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि महोत्सव स्थगित भएको थियो । यो वर्ष पनि महोत्सव विचमै स्थगित हुन पुगेको छ । जसका कारण ठुलो घाटा व्यहोर्नु परेको आयोजकको भनाई छ । खर्च विवरण भने केहि दिनमा निस्कने आयोजकले जनाएको छ ।