गत कार्तिक १७ गतेको भूकम्पले रुकुम पश्चिममा १४ सय बढी कक्षा कोठामा क्षति गरेको छ । जिल्लाका स्थानीय तहको प्रारम्भिक विवरण अनुसार जिल्ला भरमा एक हजार चार सय आठ वटा कक्षा कोठामा भूकम्पले क्षति गरेको छ । जिल्लाभरका कुल तीन सय आठ वटा विद्यालय मध्ये दुई सय ६८ वटा विद्यालयका एक हजार ३१ वटा भवन रहेकामा पाँच सय १७ वटामा क्षति पुग्दा यति कक्षा कोठामा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । जसमा पूर्ण क्षति भई बस्न नमिल्ने ६ सय २८ र आंशिक क्षति भई बस्न नमिल्ने सात सय ८० वटा कक्षा कोठा रहेको इकाईले जनाएको छ ।
सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा झन्डै चार सय वटा कक्षा कोठामा बस्नै नमिल्ने गरी क्षति भएको विवरण आएको इकाई प्रमुख ताराप्रकाश पुन मगरले जानकारी दिनुभयो । त्यहाँ कुल ६५ मध्ये ५३ वटा विद्यालयका एक सय ५७ वटा विद्यालय भवनमा क्षति पुग्दा तीन सय ९३ वटा भवनमा क्षति पुगेको उहाँको भनाई छ । मुसिकोट नगरपालिकामा तीन सय सात, सानीभेरी गाउँपालिकामा दुई सय ३५, बाँफिकोट गाउँपालिकामा दुई सय ४२, त्रिवेणी गाउँपालिकामा एक सय ६८ र चौरजहारी नगरपालिकामा ६३ वटा कक्षा कोठामा क्षति पुगेको विवरण प्राप्त भएको इकाई प्रमुख पुन मगरले जानकारी गराउनुभयो ।
त्यस्तै जिल्ला भरमा कुल तीन सय एक वटा शौचालयमा क्षति पुगेको उहाँको भनाई छ । यो प्रारम्भिक विवरण रहेको र पूर्ण विवरण आउन केही समय लाग्ने पुनले जानकारी दिनुभयो । प्राविधिक सहितको टोली जिल्लाका सबै भूकम्प प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको र प्राविधिक प्रतिवेदन प्राप्त भएपछि पूर्ण विवरण थाहा हुने उहाँले बताउनुभयो । पूर्ण विवरण आयो भने प्रारम्भिक विवरणमा तलमाथि हुन सक्ने बताइएको छ । हालसम्मकाे विवरण अनुसार ५० प्रतिशत विद्यालयमा क्षति पुगेकाे पुनले बताउनुभयाे ।
जिल्लाका भूकम्प प्रभावित क्षेत्रका विद्यालयमा हाल अस्थायी सिकाई केन्द्र मार्फत पठन पाठन भइरहेको छ । अस्थायी सिकाई केन्द्र प्रभावकारी बन्न नसकेको शिक्षक तथा विद्यार्थीहरूको गुनासो छ । भूकम्पमा परि रुकुम पश्चिममा २८ जना विद्यार्थीको मृत्यु भएको थियो ।