
रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका दलित तथा सीमान्तकृत महिलाहरूको समस्या सम्बोधनका लागि दलित महिला सङ्घ रुकुम शाखाले आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा सहभागीहरूले गुनासाहरू राखेका छन् । दलित महिला सङ्घले मुसिकोट खलङ्गामा आयोजना गरेको समस्या सम्बोधन कार्यक्रममा प्रभावित क्षेत्रका दलित महिलाहरूले सरोकारवाला निकायलाई आफूहरूले भोग्नु परेका गुनासो पोखेका हुन् ।
भूकम्प गएको दुई महिना पुग्न लाग्दा पनि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता समेत पाउन नसकेको सानीभेरी गाउँपालिका वडा ८ आमडाँडाकी रुपा विश्वकर्माले गुनासो गर्नुभयो । हालसम्म आफूहरूले त्रिपालमै रात कटाउनुपर्दा शीत चुहिएर निकै समस्या हुने गरेको र गर्भवती महिला तथा सुत्केरी महिलाहरूलाई अस्थायी आवास नबन्दा समस्या भएको उहाँको गुनासो थियो ।
अस्थायी आवास निर्माणको लागि बैङ्किङ कागजात प्रक्रिया मिलाउन झन्झटिलो भएकाले हालसम्म आफूले पनि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता नपाएको सानीभेरी ४ की आशा विकले गुनासो गर्नुभयो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ कि कल्पना बस्यालले राहत वितरण पहुँचको आधारमा वितरण गरिएको र दूर दराजका दलित तथा सीमान्तकृत महिलाहरूले अझै राहतको महसुस गर्न नसकेको बताउनुभयो ।
अन्य सहभागीहरूले पनि सरकारले दलित तथा सीमान्तकृतहरूको समस्यालाई चासोको रूपमा लिनुपर्ने बताएका थिए । सहभागीहरूले उठाएका प्रश्न तथा गुनासाहरूको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जवाफ दिनुभएको थियो । सहभागीहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्दै उहाँले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न जिल्ला विपत् व्यवस्थापन कोषबाट रकम स्थानीय तहमा पठाइएको र बैङ्किङ प्रक्रियाले गर्दा केही ढिला भएको हुन सक्ने बताउनुभयो ।
‘प्रक्रिया पुगेकाले केही समय ढिला भए पनि अस्थायी आवास निर्माणको रकम पाउनु हुन्छ । सरकारले दिने भनेको रकम नपाउने भन्ने हुँदैन । बरु सबै मिलेर अस्थायी आवास निर्माण गर्न तिर लाग्नुहोस् । जतिसक्दो छिटो हामी पनि लाभग्राहीलाई रकम उपलब्ध बनाउने तिर लागिरहेका छौँ ’ उहाँले भन्नुभयो । अस्थायी आवास निर्माण गर्दा कुनै कुनै ठाउँमा घरका मान्छेको सहयोग नदेखिएको उल्लेख गर्दै अस्थायी आवास निर्माण तथा आपत् विपत् मा सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।

दलित तथा सीमान्तकृत महिलाहरूलाई समस्या भए स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो । सरकार दलित तथा सीमान्तकृत महिलाहरूको समस्याको हल गर्न सधैँ अग्रसर रहेको प्रमुख जिल्ला अधिकारी पन्तको भनाई थियो । कार्यक्रममा सानीभेरी गाउँपालिका, आठबीसकोट नगरपालिका, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका भूकम्प प्रभावित क्षेत्रका दलित महिलाहरूको सहभागिता रहको दलित महिला सङ्घका फोकल पर्सन प्रविर ददेलले जानकारी गराउनुभयो ।
उहाँका अनुसार दलित महिलाहरूले भूकम्प पछि भोग्नुपरेका समस्याका बारेमा सरोकारवालालाई जानकारी बनाउन कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रमबाट दलित तथा सीमान्तकृत महिलाहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
दलित महिला सङ्घका अध्यक्ष पम्फा विकको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी पन्तको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, दलित सङ्घका संयोजक यज्ञ परियार, रेडक्रस सोसाइटी जिल्ला सभापति रमा गौतम, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष ब्युझना पुन देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।