Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन महिने अभियान पूर्ण सफल: माओवादी केन्द्र रुकुम पश्चिम 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ । शुक्रवार मुसिकोट ५ शेरिगाउँमा भएको जिल्ला स्तरीय समीक्षा कार्यक्रमले यो अभियानले पार्टीलाई सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको र पार्टी जनताका बिचमा थप स्थापित भएको निष्कर्ष निकालेको पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले बताउनुभयो ।

गत भाद्र १६ गतेबाट सुरु भएको थियो । सुरुमा तीन महिनाका लागि भनेर सञ्चालन भएको अभियान एक महिनाका लागि थप्दै चार महिना पुर्‍याइएको थियो । अभियान अन्तर्गत बिचमा सङ्गठन विस्तार, सुदृढीकरण, भेला, सभा, बैठक, श्रमदान लगायतका काम भएका थिए । कार्तिक १७ गते भूकम्प गएपछि भने यो अभियानलाई उद्धार, राहत वितरण र अस्थायी आवास निर्माणमा केन्द्रित गरिएको छ । जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा पार्टीले तीन हजार बढी अस्थायी आवास निर्माण गरेको जनाएको छ । 

अभियान सकिए पनि अभियानका क्रममा भएका गतिविधि जारी रहने जिल्ला संयोजक रोकाले बताउनुभयो । ‘औपचारिक रूपमा अभियानको समापन भएको छ, तर अभियानमा सञ्चालन भएका गतिविधिहरू निरन्तर सञ्चालन हुने छन्’ उहाँले भन्नुभयो । अभियानले पार्टीमा पुनर्जागरण पैदा गरेको उहाँको भनाई छ । कार्यकर्ता देखि नेतृत्व तहसम्म जनतासँगै रहनुको विकल्प छैन भन्ने कुरा अभियानले देखाएको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार अभियानको औपचारिक समापन पुस १६ गते जिल्लाभर भूकम्पपीडितहरुको घरमा जनपरिचालनमार्फत अस्थायी टहरा निर्माण वा भत्केको घर व्यवस्थापन कार्यमा संलग्न रही गरिने छ । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update