रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ भोखाधुरी सामुदायिक वनमा अवैध रूपमा कटान गरिएको काठ सहित काठ चिरान गर्न प्रयोग गरिने मेसिन बरामद गरिएको छ । डिभिजन वन कार्यालयको नियमित गस्ती टोलीले शुक्रवार भोखाधुरी सामुदायिक वन क्षेत्रमा अवैध रूपमा काटिएको काठसहित मेसिन बरामद गरेको हो ।
भोखाधुरी सामुदायिक वनमा अवैध रूपमा कटान गरेको साँदनको एक थान गोलिया सहित ३४ थान चिरान गरिएको काठ र काठ चिरान गर्न प्रयोग गरिएको मेसिन जफत गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गरिएको काठ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पूर्णसिंह ओलीलाई जिम्मा लगाइएको छ ।
सामुदायिक वन उपभोक्ता समूहबाट अनुमति नलिई काठ कटान गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई आइतबार डिभिजन वन कार्यालयमा उपस्थित गराउने गरी त्रिवेणी गाउँपालिका ५ का वडाध्यक्ष रनबहादुर पुनको जिम्मामा छोडिएको निमित्त प्रमुख परियारले जानकारी दिनुभयो । अवैध काठ कटान कार्यमा संलग्न व्यक्तिलाई सामुदायिक वन उपभोक्ता समूहको कार्य योजना तथा वन ऐन २०७६ को प्रावधान बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।