रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा परम्परा देखि लाग्दै आएको कुनाखेत मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पौष १० गते देखी सञ्चालन भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो । मेलाको अवसरमा वडा युवा तथा खेलकुद विकास समितिले खुला वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।
रुकुम पूर्व र पश्चिमका २६ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबल तर्फ आयोजक ए विजेता बनेकाे छ । शनिवार भएको फाइनलमा बाँफिकोट ३ दह लाई ३-१ को सेटमा पराजित गर्दै बाँफिकोट २ विजेता भएको हो । विजेता आयोजक ए ले नगद एक लाख ११ हजार रुपैयाँको साथमा कप, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेता भएको बाँफिकोट ३ ले नगद ७५ हजार रुपैयाँको साथमा कप, मेडल, र प्रमाण पत्र हात पारेको खेलकुद समितिका अध्यक्ष रत्न नाथले जानकारी दिनुभयो ।
यस्तै सेमिफाइनल पुगेका दुई टिम बाँफिकोट १ पालाकोट र बाँफिकोट ८ दुलीलाई समान २५-२५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएकाे छ ।
महिला भलिबल तर्फ बाँफिकोट ४ विजेता भएको छ । शनिवार नै भएको फाइनलमा आयोजक ए लाई पराजित गदै बाँफिकोट ४ विजेता भएको हो । विजेता बाँफिकोट ४ ले नगद ३१ हजार, उप विजेता आयोजक ए ले नगद २० हजार रुपैयाँको साथमा कप, मेडल, र प्रमाण हात पारेको खेलकुद समितिले जानकारी दिएको छ । समितिका अनुसार सेमिफाइनल पुगेका सानीभेरी ५ र बाँफिकोट ६ ले समान सात-सात हजार रुपैयाँको साथमा मेडल पाएका छन् ।
मेलाकाे अवसरमा महिला पुरुष ब्याडमिन्टन पनि सञ्चालन हुनुका साथै झाँकी सहित उपस्थित भएका १३ ओटा सांस्कृतिक समूहलाई सम्मान गरिएको आयाेजनले जनाएकाे छ । एक कार्यक्रमका बिच शनिवार खेलकुद सहित मेलाको समापन गरिएको छ ।