Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका झन्डै बिस हजार लाभग्राहीले प्राप्त गरे अस्थायी आवासका लागि पहिलो किस्ता 

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकमले क्षती पुर्याएको रुकुम पश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाको छ वटै स्थानीय तहमा गरेर हालसम्म १९ हजार सात सय १७ जना लाभग्राहीले पहिलो किस्ता बापतको २५ हजारका दरले प्राप्त गरेका हुन् । 

जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट २३ हजार ६ सय आठ लाभग्राहीको लागि पहिलो किस्ता बापतको रकम पठाइए पनि स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट १९ हजार सात सय १७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा सात हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफिकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् । 

चौरजहारी नगरपालिकामा पाँच हजार नौ सय ३८, मुसिकोट नगरपालिकामा दुई सय ११, सानीभेरी गाउँपालिकामा चार हजार चार सय ९९ र त्रिवेणी गाउँपालिकाका दुई हजार ६९ लाभग्राहीले पहिलो किस्ता बापतको २५ हजारका दरले ४९ करोड २९ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । जिल्ला विपत् व्यवस्थापन कोषबाट भने ५९ करोड दुई लाख रकम स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा पठाइसकिएको छ । 

जिल्लाबाट पठाइएको पहिलो किस्ता बापतको रकम अझै तीन हजार ९१ लाभग्राहीले पाउन बाँकी छ । जिल्ला भरमा हालसम्म २६ हजार आठ सय पाँच लाभग्राहीको प्रहरी लागत तयार भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update